२० नयाँ बस काठमाडौंमा, अब साझाले कुन रुटमा चलाउँछ यि बस ?

शुक्रबार, बैशाख २७, २०७६ साल,
काठमाडौं । साझा यातायातले किनेका थप २० वटा बस काठमाडौं आइपुगेका छन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् ।

नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ । साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले अब कम्पनीबाट हस्तान्तरणसहित रुट लिने प्रक्रिया अघि बढ्ने बताए ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

कार्यकारी निर्देशक तुलाधरले हाल चलिरहेकै  रुटमा बस थप्न प्राथमिकता दिने बताए । आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने उनको भनाइ छ ।

यी बस पनि अन्तर्राष्ट्रिय युरो ४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ ।  

यो वर्ष काठमाडौं महानगरपालिकाले साझामार्फत १० करोड खर्चे विद्युतीय बस ल्याउने योजना बनाएको छ ।

यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ ।

यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411