खेर गएको राप्ती बगरमा खरबुजा क्रान्ति

बुद्धबार, बैशाख २५, २०७६ साल,
दाङ । कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै फलेका छन् ।

बगर खेतीबाटै आत्मनिर्भर बन्ने प्रयासमा रहेका उनीहरुमा अहिले ठूलो जोश र जाँगर छ । त्यही खेतीबाट उनीहरु आज लखपति बनेका छन् । लमही नगरपालिका ४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको दक्षिण भएर बगेको राप्तीको उत्तरतिर बालुवाले भरिएको जमीन अहिले हरियाली छ र बोटमा खरबुजाका लदाबदी फलेका छन् । बालुवामाथि फलेका ती खरबुजाले यसका ग्राहक मात्र होइन कि त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ ।

यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दै छ । बोटमै गएर किन्ने ग्राहक पनि सन्तुष्ट छन् । आफूहरुले नै टिपेर किन्ने भन्दै उनीहरु त्यहाँसम्म पुगेका हुन् । ती पौरखी किसान मध्येकी एक हुन्, ४९ वर्षीया सनकुमारी चौधरी । बलरामपुर गाउँका अरु २०० किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका छन् । केहीले सामूहिक र केहीले व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।

लमही नगरपालिका ४ को सिम्रहवामा बस्दैआएकी चौधरीले अहिले दुई बिघा जति जमीनमा खरबुजा रोपेकी छिन् । उनले भनिन्, ‘पहिला नदीले हाम्रा सबै जमीन कटान गरेर हामीलाई बिचल्ली नै पार्‍यो, अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पालेका छौं, घर खर्च चलाएका छौं र केही मात्रामा बचत गर्न पनि सफल भएका छौं ।’ चौधरीले भनिन्, ‘२० वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आएर घर, अन्नपात, गाई, भेडा सबै बगायो, हामी घर छोडेर भाग्यौं र सिम्रहवामा गयौं,पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्‍यो,पछि सबै गाउँलेहरुले सल्लाह गर्‍यौं र यो खेतीको कार्यक्रम बनायौं ।’

बगर सुनसान ठाउँमा छ । बस्ती नभएको यस ठाउँमा फसल चोरी हुने डरले प्रत्येक किसानले त्यहाँ फुसको छानो भएका घर बनाएका छन् । प्रचण्ड गर्मीसँगै जमीनमा बालुवा छ । तर पनि ती घरमा राति सुत्ने गरेको किसानहरु बताउँछन् । आफूहरुको आम्दानीको स्रोत नै यही भएकाले चोरी हुन नदिन श्रीमान् रातको समयमा यहीं सुत्ने सनकुमारीले बताइन् ।

बेमौसममा पानीको समस्या हुने भएकाले किसानले राप्ती नदीबाट पानी बोकेर सिँचाई गर्ने गरेका छन् । एक किसानले भने, ‘प्रचण्ड गर्मी छ, जमीनमा बालुवा भएकाले पानी चाँडै सुक्छ, यहाँ नजीकै बोरिङ छैन, बोरिङ भएमा सजिलो हुने थियो ।’ अर्को समस्या उनीहरुलाई बजारको पनि छ । नजीकमा बजार नपाउँदा आफूहरुले समस्या भोग्नु परेको उनीहरुको भनाइ छ । किसानहरु भन्छन्, ‘खरबुजा खेतीका लागि यो जमीन राम्रो छ, स्वास्थ्यका लागि फाइदा समेत हुने यस फलको उत्पादन र बजारका लागि सरकारले पनि केही गरिदिए हुन्थ्यो ।’

सरकारले कम्तीमा मल र बीउको व्यवस्था गरिदिए राम्रो हुने उनीहरुको भनाइ छ । सनमाया भन्छिन्, ‘खरबुजाबाट एक मौसममा रू।३ लाखदेखिे ३ लाख ५० हजारसम्म आम्दानी गरेका छौं ।’ बेमौसमी तरकारीबाट पनि राम्रो कमाइ छ तर, बजार नपाउँदा समस्या हुने गरेको बताउँदै उनले भनिन्, ‘अहिले खरबुजा बारीबाट प्रतिकेजी रू। ७० र बजारमा प्रतिकेजी रू। ८० मा फुटकरमा विक्री हुन्छ ।’ स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी संस्थाले बगर खेतीका लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ । त्यतिले नपुगेर आफूहरुले मल र बीउ नै किनेर खेति गरिरहेको किसानहरु बताउँछन् । तर पनि उनीहरु रमाएर खेती गरिरहेका छन् । उनीहरुको भनाइ छ, ‘हामीले बालुवामा सुन फलाउन सकेको महशुस गरेका छौं ।’

सोही ठाउँकी ३५ वर्षीया रीता चौधरी पनि बगरमा गरिएको खरबुजा र तरकारी खेतीबाट आफूहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । उनले भनिन्, ‘शुरुमा त निराश पनि भयौं, हामीलाई यो बालुवामा के फलाउन सकौंला र जस्तो पनि लागेको थियो ,अहिले यसै व्यवसायबाट घरपरिवार पाल्न, पढाउन र बचत गर्न सकेकाले खुशी लागेको छ ।’ राप्ती नदीले जग्गा कटान गरेर लगेपछि गाउँमा ज्यालादारी गरेर घरखर्च चलाएका उनीहरु अहिले भने आफै उद्यमी बन्न सफल छन् ।

जिल्लाको देउखुरी क्षेत्रमा राप्ती नदी आसपासमा बसोबास गर्दै आएका हजारौं किसान अहिले भने बगरमा गरिएको तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा अहिले २ हजारभन्दा बढी किसान यस व्यवसायमा आवद्ध छन् । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा खेती गरिरहेका छन् । २ हजार १८ जना किसानले १०२ ओटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्य सहकारीका व्यवस्थापक विश्वप्रकाश अधिकारीले बताए ।

संस्थाले तालीम पनि दिँदैआएको छ । किसानहरुलाई बिना धितो सामूहिक जमानीमा ऋणसमेत दिँदैआएको यो संस्थाको सहयोगमा २ हजारभन्दा बढी किसानले लाभ लिइरहेका छन् । एक मौसममा एक किसानले रू। ८० हजारदेखि रू।४ लाख सम्म आम्दानी गरिरहेको छ । बजार व्यवस्थापन हुन नसक्दा भने किसानहरुले सोचे जति लाभ लिन भने सकेका छैनन् ।

१० वर्ष अघि कृषि विकास कार्यालय र स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी संस्थाको पहलमा बगरमा परिणत भई खेर गएको जमीनलाई प्रयोगमा ल्याउने काम भएको हो । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411