मोदीको सार्वजनिक सम्बोधन गर्ने प्रस्ताव

आईतवार, कार्तिक २३, २०७१ साल,
काठमाडौं – सार्क सम्मेलनमा सहभागी हुन आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र लुम्बिनीमा सार्वजनिक सम्बोधन गर्ने प्रस्ताव पाएपछि सरकारले असहज महसुस गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक सम्बोधनसँगै जनकपुरमा करिब तीन हजार साइकल बाँड्ने प्रस्तावबारे जानकारी पाएपछि यसबारे प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निकटवर्ती र केही मन्त्रीसँग सल्लाह गरेका छन्।

सार्क सम्मेलनमा आएका बेला सार्वजनिक सम्बोधन र साइकल बाँड्ने कार्यक्रमले अरू सहभागीहरूका लागि समेत दृष्टान्त बन्न सक्ने भनी सरकारले मोदीको कार्यक्रममा असहज महसुस गरेको हो। मोदीको ‘सदासयता’को कूटनीतिक रूपमा अर्को अर्थ नलागोस् भनी सरकार सचेत रहेको समेत बुझिएको छ। सार्क सम्मेलनताका लुम्बिनी भ्रमण गर्नेमध्ये श्रीलंकाली राष्ट्रपति र भुटानी प्रधानमन्त्री बौद्ध धर्मावलम्बी हुन्।

मोदीले जनकपुर भ्रमणका क्रममा त्यहाँका केही सरकारी स्कुलका बालिकालाई तीन हजार साइकल वितरण गर्ने कार्यक्रमबारे जानकारी पाएपछि प्रधानमन्त्रीले त्यो रोक्न चासो देखाएका थिए। ती साइकल मोदी आफैंबाट नभई स्थानीय प्रमुख जिल्ला अधिकरीले बाँड्ने गरी कार्यक्रम फेरबदल गरिने स्रोतले जानकारी दिएको छ।

मुक्तिनाथ दर्शनका बेलासमेत मोदीले खानेपानी योजना शुभारम्भ गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ। मोदीको भ्रमणतालिका बनाउँदा भारतीय पक्षले आवश्यक समन्वय नगरेको नेपाली पक्षले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘हामी यसलाई विवादरहित ढंगले टुंग्याउने प्रयास गरिरहेका छौं भारतीय पक्षले समेत यसमा बुझ्नेछ।’ सुरक्षा दृष्टिकोणले समेत सार्वजनिक भाषण चुनौतीपूर्ण हुने भएकाले मन्दिर दर्शनका क्रममा मोदीलाई स्वागत गर्न भेला भएका सर्वसाधारणसँग धन्यवाद भन्ने गरी कार्यक्रम तय गर्न भारतीय पक्षलाइ सुझाव दिने तयारी सरकारले गरेको छ। मोदीले जानकी मन्दिर दर्शन गर्न जाँदा उनलाई स्वागत गर्न उपस्थित भएका सर्वसाधारणसँग कुराकानी गर्ने वातावरण मिलाउने सरकारको तयारी रहेको स्रोतले बताएको छ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411