माथिल्लो त्रिशूली थ्री एको परीक्षण सफल, वैशाखभित्रै उत्पादन थाल्ने

मंगलवार, बैशाख १७, २०७६ साल,
काठमाडौं । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।

सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण  सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत् गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानललगायतका उपकरणहरु डिजाइनअनुसार चले÷नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यावसायिक रुपमा  विद्युत् उत्पादन केही ढिलाइ भएको घिसिङले बताए ।

‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं, नन्–लोड टेस्टिङ सफलतापूर्वक सम्पन्न भएको छ, अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए÷नभएको हेरिन्छ, पानी खाली गर्न र भर्न ५र६ दिन लाग्छ, यसबीचमा अन्य कामहरु पनि समानान्तर रुपमा अगाडि बढ्छन्,’उनले भने–‘वैशाखभित्रै व्यावसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने छ ।’

दोस्रो युनिट ३० मेगावाटको असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग ठेक्का सम्झौता भएको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411