
काठमाडौं । लगानी सम्मेलन सकिएको भोलिपल्ट १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्यो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाडौंमा ‘स्काई’ रेल चलाउन इच्छा देखाएको छ ।
(सीसीएआर)ले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । ‘लगानी बोर्डका अध्यक्ष समेत भएका कारणले होला प्रधानमन्त्रीलाई सम्वोधन गरेर प्रस्ताव प्राप्त भएको छ’ सीसीएआरको पत्र देखाउँदै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘हामीले प्रस्ताव पत्र लगानी बोर्डमा फरवार्ड गरिसकेका छौं, यस विषयमा अध्ययन भइरहेको होला ।’
लगानी बोर्डले पनि प्रधानमन्त्री कार्यालयमार्फत प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ । केहि साता अघि प्राप्त प्रस्तावबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।
चिनियाँ कम्पनी सीसीएआरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाल राजदूत लिलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काई रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीले जनाएको छ ।
उसले पहिलो चरणमा चक्रपथभित्र चलाउने र दोस्रो तथा तेस्रो चरणमा चक्रपथ बाहिर विस्तार गर्न सकिने बताएको छ । सीसीएआरका अनुसार काठमाडौंको चक्रपथमा ५ हजार यात्रुसम्म बोक्न सक्ने स्काई रेल चलाउन सकिनेछ ।
चक्रपथभित्रै १४ किलोमिटर स्काई रेल चलाउन सकिने भन्दै कम्पनीले रुट प्रस्ताव गरेको छ । एयरपोर्ट–तिनकुने–बानेश्वर–माइतिघर–त्रिपुरेश्वर हुँदै नारायणगोपाल चोकसम्म र त्यहाँबाट चावाहिल–चावाहिल गौशाला हुँदै एयरपोर्टसम्मै हुनेछ ।
दोस्रो र तेस्रो चरणमा भने काठमाडौं र धादिङको सिमाना थानकोटसम्म र काठाडौं–भक्तापुर खण्डमा समेत स्काई रेल चलाउन सकिने चिनियाँ कम्पनीको प्रस्ताव गरिएको छ । सीसीएआरको दाबी छ कि मोनो तथा मेट्रो रेलको तुलनामा स्काई रेल सस्तो हुनेछ ।
सीसीएआरले आफ्नै लगानीमा २ वर्षभित्र चक्रपथमा स्काई रेल निर्माण गर्ने दाबी गरेको छ । यसरी निर्माण भएको रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ ।