बैशाख ६ गतेदेखि रसुवागढी र साञ्जेनले डेढ अर्बको आईपिओ जारी गर्ने

मंगलवार, चैत्र २६, २०७५ साल,
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएका छन्। पछिल्लो समय जनताको जलविद्युत कम्पनी अन्तर्गत समेटिएका दुबै कम्पनीको गरि करिब एक अर्ब ५० करोडको शेयर सर्वसाधारणमा निष्काशन हुन लागेको हो।

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गर्नेछ।

निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको ४ लाख १० हजार ५२६ कित्ता कर्मचारीहरुलाई र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ९३ लाख ३९ हथजार ४६७ कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ।

उता साञ्जेन जलविद्युत कम्पनीले कुल जारी पूँजी ३ अर्ब ९५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ।

निष्काशित शेयरमध्ये चार प्रतिशत बराबरको २ लाख १९ हजार कित्ता कर्मचारीहरुलाई र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ।

रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता र साञ्जेनको ४९ लाख ८२ हजार २५० कित्ता गरी कूल १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयर निष्काशन हुनेछ।

दुवै कम्पनीले निष्काशन गर्ने आईपिओमा लगानीकर्ताले न्यूनतम प्रतिकित्ता ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ५ हजार कित्ताका लागि पाँच लाख रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिन्छ। त्यसको अलावा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओ भर्न सक्नेछन्।

उक्त दुबै आयोजनाको आईपिओ छिटोमा बैशाख १० गते बन्द हुनेछ भने सो समयमा आवश्यक माग नभएको खण्डमा भने ढिलोमा जेठ ५ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था छ।

रसुवागढीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई र सनराइज क्यापिटल छन्।

यस्तै साञ्जेन जलविद्युत्को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशन तथा विक्री प्रबन्धक सनराइज र एनएमबि क्यापिटललाई तोकिएको छ ।

रसुवागढी हाइड्रोपावरले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले १४.८ मेगावाट क्षमताको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

साञ्जेनका दुबै आयोजनाहरु २०७६ पुस मध्यसम्म र रसुवागढी जलविद्युत आयोजनाले २०७६ फागुनदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने प्रक्षेपण छ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489