रूसविरुद्ध खनिए अमेरिकी राष्ट्रपति बाराक ओबामा

सोमबार, जेष्ठ २५, २०७२ साल,
एजेन्सी, म्युनिख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले औद्योगिक राष्ट्रहरूको संगठन (जी-७) का नेताहरूसँग रूसविरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका छन्। जर्मनीमा आयोजित जी-७ को शिखर सम्मेलनमा आइतबार उनले यस्तो धारणा अगाडि सारेका हुन्।
 
रूसले युक्रेनविरुद्ध संघर्ष गरिरहेका विद्रोहीलाई सहयोग गरेको आरोप पश्चिमा शक्तिहरूले लगाउँदै गरेका छन्। युक्रेनमा रूस समर्थित विद्रोहीले हत्या हिंसा गरेर अशान्ति मचाएको उनीहरूको दाबी छ।
 
आइतबारदेखि सुरु भएको उक्त शिखर सम्मेलन सोमबारसम्म चल्ने छ। सम्मेलनको उद्घाटन गर्दै जर्मन चान्सलर एन्जेला मर्केलले ओबामालाई भव्य स्वागत गरेकी थिइन्। 
 
मर्केलले यस सम्मेलनबाट विश्वव्यापी समस्याका रूपमा देखापरेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने सहयोग पुग्ने बताएकी छन्। संयुक्त राष्ट्रसंघले सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा जलवायुसम्बन्धी सम्मेलन गर्ने भएको छ। पेरिस सम्मेलनलाई गति दिन बैठक सहयोगी हुने अपेक्षा गरेको मर्केलले बताइन्।
 
सम्मेलनमा जर्मनीले विशेषगरी स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिएको छ। इबोलाजस्ता नयाँ रोग र उष्ण प्रदेशीय क्षेत्रमा देखापर्ने रोगका बारेमा उसले जोड दिएको छ।
 
छलफलमा युक्रेन र ग्रिसलाई लिएर व्यापक रूपमा छलफल भएको जानकारी दिइएको छ। युक्रेन युरोपका लागि निकै महत्त्वपूर्ण भाग हो। यसलाई आफ्नो सदस्य बनाउन सके रूसलाई घेर्न सकिने नीति उनीहरूको रहेको छ। 
 
ग्रिस भने युरोपेली युनियन ९इयु० का लागि टाउको दुखाइको विषय बन्न पुगेको छ। वामपन्थी नेता एलेक्सिस त्सिप्रास त्यहाँका प्रधानमन्त्री बनेपछि इयुका सर्तलाई उनले पूर्ण रूपमा स्विकार्न नसकिने बताएका छन्। यसैगरी ग्रिसले ऋण तिर्न नसक्ने बताउँदै आएका छन्। आफूलाई सहज नहुने देखिएमा इयुबाट बाहिरिने उनले चेतावनी दिँदै आएका छन्।
 
युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले सम्मेलन हुनुअगाडि ग्रिसेली प्रधानमन्त्री त्सिप्राससँग ऋणको बारेमा छलफल गरेका थिए। उनले ऋण लिएपछि पालन गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमबारे सचेत गराएका थिए।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सहभागी नेताहरूसँग अन्तर्राष्ट्रिय व्यापार, अर्थतन्त्र र व्यापारिक साझेदारीका बारेमा विमर्श गरेका छन्। ओबामाले युक्रेनका पक्षमा उभिएर रूसलाई चेतावनी दिनुपर्नेमा पटक पटक जोड दिए। 
 
युक्रेनी समस्यालाई जलवायु परिवर्तनको मुद्दाभन्दा कम ठान्न नहुने उनको भनाइ थियो। उनले रूसलाई नाकाबन्दी लगाउने कुरामा युरोपलाई निकै आग्रह गरे।
 
सम्मेलनमा मर्केल र ओबामाले जर्मन र अमेरिकी सम्बन्ध सुमधुर रहेको बताएका थिए। यसअघि गतवर्ष जर्मन चान्सलर मर्केलको मोबाइल फोन ट्यापिङ गरेको विषयलाई लिएर तनाव देखिएको थियो।
 
ओबामाले भने, जर्मनीका जनतासँग हाम्रो निकट सम्बन्ध रहेको छ। यसका निम्ति मर्केलप्रति आभारी छौं। उनले जर्मनी र अमेरिकाको विश्वलाई हेर्ने दृष्टिकोण समान भएको दाबी गरे।
 
युरोपियन परिषद्का प्रमुख डोनाल्ड तुस्कले पनि जी-७ ले रूसविरुद्धको प्रतिबन्धमा एकजुट हुनु महत्त्वपूर्ण भएको स्पष्ट पारे। युरोपेली नियोगहरूले रूसलाई एकल्याउने कुरा आफ्नो मूल विषय भएको खुलासा गरेका छन्। 
 
क्रिमिया रूसमा विलय भएपछि पश्चिमा शक्तिले रूसलाई जी-८ समूहमा समावेश गरेका छैनन्। रूसले भने पश्चिमा शक्तिको कार्य गैरव्यावसायिक भएको बताउँदै आएका छन्।
 
तेलको भाउ घटाउन अमेरिकाले चालेको कदममा पश्चिमाहरूले सहयोग गरेको पुटिनको भनाइ छ। अमेरिकाले तेलको भाउ घटाएर रूसलाई कमजोर बनाउने सोच राखेको उनले बताउँदै आएका छन्।
 
सम्मेलनपूर्व ओबामाले युक्रेनी राष्ट्रपति पेत्रो पारोसेन्कोलाई फोन गरेर आफूहरू युक्रेनको पक्षमा रहेको स्पष्ट पारेका थिए। यसैगरी जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि युक्रेन पुगेर ऐक्यबद्धता जनाएका थिए।
 
सम्मेलनमा आतंककारीसँग लड्ने विषयमा छलफल भएको जानकारी दिइएको छ। बोको हराम, अलकायदा र इस्लामिक स्टेटको बढ्दो प्रभाव नियन्त्रण गर्ने विषयमा पनि उनीहरूले परामर्श गरेका छन्।
 
शिखर सम्मेलनमा सहभागी नेताहरूको विरोध गर्दै जर्मनीमा प्रदर्शन भएका छन्। उनीहरू कार्यक्रममा जाने मार्ग प्रदर्शनकारीले ठप्प पारेका थिए। नेताहरूलाई कार्यक्रम स्थल लान हेलिकोप्टर प्रयोग गर्नुपरेको थियो। 
 
कार्यक्रम आयोजना गरिएको सहर गार्मिस-पार्टेनकिरचेनमा विशाल स्याली निकालिएका थिए।ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका थिए। 
 
सयौं घाइतेलाई अस्पताल भर्ना गरिएको छ। आयोजनास्थलको सुरक्षार्थ २० हजार सुरक्षाकर्मी खटाइएको छ। अस्ट्रिया र जर्मनीको सिमानामा दुई हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। -एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411