लगानी सम्मेलन शुरुः लगानी गर्नुस नाफा लैजानुस्-प्रधानमन्त्री ओली

शुक्रबार, चैत्र १५, २०७५ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुइदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गरेका छन् । त्यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनमा सहभागीलाई स्वागत गर्दै नेपालले लगानी पर्खिरहेको बताएका थिए ।

प्रधानमन्त्रीले सम्बोधनको क्रममा लगानीको नाफाको सुनिश्चितताका लागि सरकारले मद्दत गर्ने समेत बताए ।

नेपालमा लगानीका लागि धेरै क्षेत्र रहेको बताएउँदै नेपालको विकासको लागि हुने लगानी परस्पर साझेदारीका लागि हुने बताए । उनले चालु सम्मेलनका क्रममा  ७५ वटा परियोजनाहरु प्रस्ताव गरिएको बताए ।  उनले देशमा नयाँ संविधान आएपछि तीन वटै तहका निर्वाचन भएको उल्लेख गर्दै अहिलेको सरकार प्रजातान्त्रिक तरिकाले निर्वाचित भएको समेत उल्लेख गरे ।

नेपालमा पूर्ण स्वतन्त्रता रहेको उल्लेख गर्दै हिंसालाई कुनै पनि स्थान नरहेको बताए । उनले लगानीकर्तालाई आश्वस्त पार्दै भने,“नेपालमा हिंसालाई कुनै स्थान छैन ।” उनले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिइएको समेत जनाए ।

यसैबीच प्रधानमन्त्री ओलीले नेपाल भूगोलको हिसाबले पनि लगानीका लागि उपयुक्त स्थान भएको बताएका छन् ।  उनले नेपाल ठूलो बजार रहेका देश भारत र चीनका बीचमा भएकोले गर्दा लगानीका लागि उपयुक्त भएको उल्लेख गर्दै लगानीकर्तालाई ठाउँको बारेमा चासो हुनु स्वाभाविक भएको बताए ।

दुवै छिमेकी देशमा नेपालको उत्पादन लैजान कानुनी प्रक्रियाले पनि सुलभ भएको बताए ।

यसैबीच प्रधानमन्त्री ओलीले विदेशी लगानी नेपालमा आउनुपर्छ भन्ने कुरामा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एक ठाउँमा रहेको उल्लेख गरे ।

लगानी सम्मेलनको पहिलो दिन आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले आफू नेतृत्वको अहिलेको सरकार दुई तिहाइ समर्थनको सरकार मात्रै नभएर प्रष्ट भिजन समेत भएको सरकार भएको उल्लेख गर्दै यहाँहरुको लगानी भित्र्याउनका लागि हामी कुनै ढिलाइ गर्न चाहँदैनौं भन्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपालको विकासमा हात मिलाउन आग्रह गर्दै विदेशबाट आउने लगानीलाई नेपालले उच्च महत्व दिने बताए ।  

प्रधानमन्त्री ओलीले लगानीको कुरा गर्दा जलविद्युत मुख्य छनौटको विषय हुन सक्ने चर्चा गर्दै अन्य क्षेत्रमा कृषि, निर्माण, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्र रहेको उल्लेख गरे ।  उनले नेपालले अहिले ३ वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको उल्लेख गर्दै त्यसपछि ५ वर्षमा ५ हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष लिइएको चर्चा गरे ।

उनले विद्युतको खपत घरेलु हिसाबले पनि बृद्धि भएको र बाहिर लग्नका लागि पनि केही सकारात्मक प्रक्रिया अघि बढेको जनाएका छन् ।  उनले सन् २०२०मा नेपाललाई ‘भिजिट नेपाल इयर’को रुपमा मनाउन लागेको उल्लेख गर्दै आफूहरुले २० लाख पर्यटक भित्र्याउने लक्ष लिएको सो अवसरमा जानकारी दिए ।

त्यो लक्ष्य प्राप्तिका लागि नेपालले होटल, रिसोर्ट लगायतका  पर्यटन क्षेत्रको  पूर्वाधार विकासमा समेत लगानी खोजिरहेको उनले चर्चा गरे ।  उनले कृषि क्षेत्रपनि अर्को सम्भावित लगानीको क्षेत्र भएको जनाए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411