कलेज कानुनविपरीत शुल्क माग्छ, राज्य हाम्रो मर्का सुन्दैन, के गरौं !

शुक्रबार, फागुन १७, २०७५ साल,
काठमाडौं । गण्डकी मेडिकल कलेज, पोखराका ६ सय विद्यार्थी सरकारले तोकेको शुल्क मात्र लिन माग गर्दै एक महिनादेखि आन्दोलनरत छन्।

कलेजमा ताला लागेको छ। पढाइ ठप्प छ। तेस्रो वर्षका विद्यार्थीको त परीक्षा नै रद्द भयो। उनीहरूका माग सुन्न न त प्रशासन तयार छ न सरकारले कुनै पहल गरेको छ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिने कलेजले उनीहरूका माग सुन्ने कुरै भएन। तर, प्रधानमन्त्रीकहाँ पुग्दा समेत आफ्नो माग पूरा गर्न कोही तयार नभएको विद्यार्थीले बताएका छन्।

‘कलेजसँग हाम्रो माग कानुनको पालना गर भन्ने मात्र हो। सरकारले तोकेको शुल्क भन्दा १० लाख बढी मागिरहनुभएको छ। हामीले दिएको पैसा लिएको बिल समेत दिनुहुन्न,’ विद्यार्थी अनित सिन्हाले भने

‘एक ठाउँमा गयो अर्को ठाउँमा जाऊ भन्छन्। त्यो ठाउँ पुगे अन्तै देखाइदिन्छन्। हाम्रो माग पूरा गराउँछु भन्ने जिम्मेवारी न सिडिओले लिन्छन्, न त्रिवि पदाधिकारीले। न त प्रधानमन्त्री निवासमा रहने उनका मान्छेहरूले, गण्डकी मेडिकल कलेजकै सञ्जीत रायमाझीले भने।

विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क असुल्ने मेडकल कलेजलाई कारबाही गर्न त्रिभूवन विश्वविद्यालय र सरकार समेत उदासिन देखिएका छन्।

सन् २०१५ देखि सरकारले एमबीबीएस पढाइका लागि शुल्क निर्धारण गर्दै आएको छ। सरकारले पहिलो वर्ष उपत्यका भित्र ३५ लाख र उपत्यका बाहिर त्यसको दस प्रतिशत बढी लिन पाइने भनेको थियो।

अर्को वर्ष त्यो बढेर उपत्यकाभित्र ३८ र बाहिर ४३ लाखसम्म लिन पाइने भन्दै शुल्क निर्धारण गर्‍यो।

गण्डकी मेडिकल कलेजले भने सरकारले निर्धारण गरेभन्दा १० लाख बढी शुल्क मागेको विद्यार्थीहरूले बताएका छन्। गएको माघमा जब कलेजले तेस्रो वर्षका विद्यार्थीसँग १० लाख माग्न सुरू गर्‍यो, विद्यार्थीले विरोध गरे। तेस्रो वर्षका विद्यार्थीले सुरू गरेको आन्दोलनमा अरू वर्षका विद्यार्थीले पनि साथ दिए।

माघ २७ गते देखि फागुन २७ गतेसम्म कलेजमा ताला लागाएर विद्यार्थीहरूले धर्ना दिए। उनीहरू अझै आन्दोलनमै छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489