कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने मन्त्रिपरिषद्को निर्णय
शुक्रबार, जेष्ठ २२, २०७२ साल,
काठमाडौ । सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट दिने निर्णय गरेको हो ।
भूकम्पपीडितलाई सरकारको राहत अपुग भएको गुनासो आइरहेका बेला सरकारले सो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सो जानकारी दिए ।
यस्तै भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यविधि पारित गरेको छ भने मुलुकभित्रको जस्तापाताले मात्र माग धान्न नसक्ने भएकाले आपूर्तिमा ५० प्रतिशत राजस्व छुट दिने र खरिद कार्यका लागि साल्ट र नेसनल टेडिङलाई जिम्मा दिन प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिए ।रासस
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »