लघु उद्यम पुर्नस्थापनाका लागि ५४ करोड दिने अष्ट्रेलियन एडको घोषणा
बिहीवार, जेष्ठ २१, २०७२ साल,
काठमाडौं । अष्ट्रेलियन एडले युएनडिपीमार्फत नेपालको भूकम्प प्रभावित जिल्लामा लघु उद्यमी कार्यक्रम अन्तर्गत ५४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
सो संझौता पत्रमा आज युएनडिपीका नेपाल प्रमुख रेनो मायोर र अष्ट्रेलियन राजदूतकी क्याथरिन गिलबीच काभ्रेको कुशादेवीमा हस्ताक्षर भएको छ । सो रकम भूकम्प अति प्रभावित जिल्लाका लद्यु उद्यमीहरुलाई पुर्नस्थापना र नयाँ उद्यमीहरुलाई सहयोग गर्ने युएनडिपीले जनाएको छ ।
युनडिपीले मेडेपमार्फत अहिले ५० वटा भन्दा बढी जिल्लामा लद्यु उद्यम कार्यक्रम संचालन गरिरहेको छ । ७० हजारभन्दा बढी लद्यु उद्यम कार्यक्रममा सहभागी छन् ।
जसमध्ये ७० प्रतिशत महिला रहेको युएनडिपीले जनाएको छ । भूकम्पले लद्यु उद्यमीहरुको व्यवसायमा पनि क्षति पुर्याएकाले पुर्नस्थापना र नयाँ व्यवसाय संचालन गर्न सो सहयोग गर्न लागिएको युएनडिपीका नेपाल प्रमुख रेनो मायोरले बताए ।
भूकम्पले धनजनको क्षति भएपनि उद्यमीहरुको सिपमा कुनै क्षति नपुर्याएकाले सो सहयोग गर्न लागेको उनले प्रष्ट्याए । आफूहरुले प्रदान गर्न लागेको सहयोगले उद्यमीहरु फेरि व्यापार ब्यवसायमा आउन सहज हुने उनको विश्वास छ । अष्ट्रेलियन राजदूतकी क्याथरिन गिलले भूकम्पले व्यापार व्यवसायमा क्षति पुर्याएकाले आफूहरुले गर्ने सहयोगले पुनः पहिलेकै स्थानमा फर्कन सहज हुने बताईन ।