अण्डा विक्री गर्दा प्रति क्रेट ३०० रुपैयाँ पाउनु पर्ने किसानको माग

बुद्धबार, माघ २३, २०७५ साल,
चितवन। लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन्।   

सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका हुन्। विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनु परेको पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।

नेपाल अण्डा उत्पादक सङ्घले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन्। हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो ५३ रुपैयाँ पुगेको भन्दै सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अण्डा प्रतिक्रेट २३० रुपैयाँमा मात्र बिकेको बताए।

अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट ३०० रुपैयाँ पाउनुपर्ने उनको भनाइ छ। हाल बजार मूल्यअनुसार किसानले एउटा अण्डाको हाराहारी आठ रुपैयाँ पाएका छन्। सोही अण्डा उपभोक्ताले खरीद गर्दा १५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ। दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी बेहोर्दै आएका छन्।

चल्लाको मूल्यमा समेत अस्वभाविक वृद्धि भएपछि ब्रोइलर कुखुरापालक कृषकले गत महीनामात्र चल्ला उठाउन रोकेर आन्दोलन गरेका थिए। हाल नेपालमा दैनिक ३५ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ। दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध रहेका छन्।

सङ्घका केन्द्रीय सचिव मदन पोख्रेलका अनुसार लेयर्स कुखुरापालनबाट मात्र एक लाख ७० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोख्रेलको भनाइ छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489