
काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब २ करोड ९१ लाख खुद नाफा कमाएको बैंकले ३२.५६ प्रतिशतले नाफा बढाएको हो।
बैंकले यस अवधिमा एक अर्ब ९ करोड ३७ लाख रुपैयाँ फ्रि प्रोफिट गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको फ्रि प्रोफिट एक अर्ब २ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।
एक अर्ब ३६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २७ करोड ०५ लाख रुपैयाँ व्यवस्था गरेको हो ।
सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड ७९ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।
बैंकको गत आवको पुस मसान्तमा प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेकोमा चालू आवको यसै अवधिमा २८ रुपैयाँ २५ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १२.३८ गुणा कायम भएको छ ।
बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले एक बर्षमा ५ अर्ब ३० करोड ११ लाख रुपैयाँले जगेडा बढाएको हो । गत आवको पुस मसान्तसम्ममा बैंकको जगेडा कोषको आकार ८ अर्ब ९२ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
बैंकले गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलन रकम १२.१८ प्रतिशतले बढाएको बैंकको कर्जा विस्तार १६.५० प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकले एक खर्ब १० अर्ब १३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७ अर्ब ३१ करोड २५ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । गत आवको पुसमा बैंकको निक्षेप संकलन ९८ अर्ब १७ करोड ३४ लाख रुपैयाँ र कर्जा लगानी ९२ अर्ब ११ करोड २३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११ अर्ब ९५ करोड र कर्जा लगानी १५ अर्ब २० करोडले बढेको हो ।
बैंकले ७ अर्ब २७ करोड ४९ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७० करोड ३७ लाख ब्याज खर्च गरेको छ । जसबाट बैंकले तीन अर्ब ५७ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी रकम २ अर्ब ६५ करोड १८ लाख रहेको थियो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.५० प्रतिशतमा बढेको छ ।
बैंकको आधार ब्याजदर ११.१५ प्रतिशत र कोषको लागत ७.२३ प्रतिशत रहेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ११.५३ प्रतिशत र कोषको लागत ७.२२ प्रतिशत रहेको थियो ।