
काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब १७ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा सबै वाणिज्य बैंकहरु भन्दा धेरै हो । यो नाफा गत आवको यसै अवधिको तुलनामा ३३ करोड ९ लाख बढी हो ।
बैंकले बुधबार प्रकाशन गरेको विवरण अनुसार पुस मसान्तसम्ममा फ्रि प्रोफिट दुई अर्ब ४ करोड ५० लाख रहेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११.२८ प्रतिशतले बढेको हो ।
नबिल बैंकको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्ट वापत १३ करोड १८ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा पनि क्रमशस् २३ र २६ प्रतिशतले सुधार गरेको छ । बैंकले चालू आवको दोस्रो त्रैमास अवधिसम्म एक खर्ब ४९ अर्ब ३८ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब २१ अर्ब २८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो।
बैंकले यस अवधिमा एक खर्ब ३० अर्ब ७१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले एक खर्ब २ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
गत पुस मसान्तसम्ममा ७ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार १४ अर्ब ५२ करोड ३७ लाख पुर्याएको छ । यससँगै बैंकको शेयरधनी कोष साढे २२ अर्ब बढी पुगेको छ ।
गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले बोनस पूँजीकृत नगर्दा प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ । पूँजी स्थिर भएर बैंकको नाफा सुधारले बैंकको प्रतिशेयर आम्दानीमा करिब ९ रुपैयाँले बढोत्तरी भएको छ ।
बैंकको गत आवको पुसमा वार्षिक ४५ रुपैयाँ ७० पैसा कायम गरेकोमा हाल ५४ रुपवैयाँ २८ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ २८० रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात १५.४० गुणा रहेको छ ।
बैंकले खुद ब्याज आम्दानीबाटै ३ अर्ब ६१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ७ अर्ब ३२ करोड ५० लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७१ करोड ३७ लाख ब्याज खर्च गरेको हो ।
गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९३ करोड ५६ लाख रहेको थियो ।समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी २३ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको दोस्रो त्रैमासमा बैंकको आधार ब्याजदर ६.९२ प्रतिशतबाट ७।९४ मा बढेको छ भने निक्षेप लागत ४.४३ बाट ५।९२ प्रतिशतमा बढेको छ ।
गत आवको पुसमा बैंकमा खराब कर्जाको अनुपात १.१३ रहेकोमा ०.६२ प्रतिशतमा घटेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७६.४९ बाट बढेर ७८.५० प्रतिशत पुगेको छ ।