टुटल र पठाओ कुनै नयाँ आविष्कार होईन, सार्वजनिक यातायातको वेथिति हो

शुक्रबार, माघ ४, २०७५ साल,
    अन्जान हिमाली
काठमाडौं । टुटल र पठाओ कुनै नयाँ आविष्कार होईन, यस्ता हजारौं मोवाइल एप स्मार्ट फोन प्रयोगकर्ताले चलाई रहेका छन् । आज समाजलाई भ्रमित पार्ने गरी समाचार सम्प्रेशण गर्नु दुर्भाग्यपूर्ण हो । यसैलाई आधार मानेर विश्लेषकहरुले टुटल र पठाऔंलाई कार्वाही गर्दा विकासको गति नैं रोकिने विश्लेषण गर्नु जायज होईन ।  सर्वप्रथमतः मोटरसाईकल कस्तो सवारी साधन हो भनेर निक्र्यौल गर्नुपर्दछ । मोटरसाईकल सवारी साधन मध्ये सवैभन्दा असुरक्षित सवारी साधन हो, यसमा कसैको दुईमत हुनु आवश्यक छैंन । यहाँ समस्या टुटल वा पठाओको होईन समस्या मोटरसाईकलको हो ।

मोटरसाईकलबाट गरीने आयआर्जन वा व्यापारलाई कुनै नौलो आविष्कार झै गरी प्रस्तुत हुन र सरकारी निकायको कार्वाहीलाई सामाजिक संजाल मार्फत निस्तेज पार्नुलाई हामीले बहादुरी मान्नु जायज हुदैन । अर्को कुरा सार्वजनिक यातायात भनेको के हो ? यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ? यस्ता विषयमा छलफल हुनु पर्ने हो तर यस्तो छैन । सार्वजनिक यातायातका सम्बन्धमा केही दिन अघि ३ किलोमिटरपर बसस्टप सार्दा समाचार माध्यममा खासै चर्चा भएन । तर आज टुटल र पठाओले घरदेखि घरसम्मै सेवा दिन्छ त्यसकारण उपयुक्त छ भनिदै छ, के यो जायज हो ?

सरकारी निकायले कानुनसम्मतः रुपमा गरिएका निर्णय वा कार्यलाई प्रधानमन्त्रीले फेसबुक र टुईटर हेरेर निर्देशन गर्नु कति जायज हो । प्रधानमन्त्रीले नियम, कानुन हेर्नु पर्दैन । के कति कारणले टुटल र पठाऔं अबैंधानिक छन् ? कति सुरक्षित छन् ? त्यस्को जानकारी राख्नु पर्दैन । प्रधानमन्त्री सधै पब्लिसिटी कैं पछि मात्रै जाने हो ?

टुटल र पठाओको सेवाले सार्वजनिक यातायातको आमसमस्या समाधान हुन्छ ? टुटल र पठाओ जस्ता सेवा एउटा प्लेटफर्म मात्र हो । वास्तविक सेवा त मोटरसाईकल धनि एपमेम्बरबाट अर्को एप मेम्बरलाई दिने हो । तर यहाँ ईसेवा र टुटल एकै हो झै गरेर प्रस्तुत गरी टुटललाई बैधानिक बनाउने कोशिस गरिदैछ । यदि यसो भएमा सार्वजनिक यातायातको क्षेत्रमा दुर्भाग्य हुनेछ । ईसेवा भर्चुअल एकाउन्ट मात्र हो भने टुटल र पठाओ बस्तुसहितको सेवा दिने प्लेटफम हो । सेवा दिने प्रकृति नै फरक फरक भएको व्यवसायलाई एउटै बास्केटमा हाल्नु न्यायोचित हुदैन ।

अहिलेसम्म हाम्रा सार्वजनिक यातायात वेथितिमा चले भनेर स्मार्ट प्रविधिका नाममा अर्को वेथितिलाई बैधानिक तुल्याउनु समाजका लागि हानिकारक हुनसक्छ । विदेशमा यस्तो छ उस्तो छ भनेर भनिदैछ हुनसक्छ हामी जस्तै वेथितिपुर्ण सार्वजनिक यातायात भएका देशमा चलिरहेका होलान । विश्वका विकसित एउटा देशको उदाहरण कस्ले दिन सक्छ ? जहाँ व्यक्तिगत रुपमा पनि मोटरसाईकल लिएर हिडेको देख्न कठिन हुन्छ ।

व्यक्तिगत रुपमा संचालन भईरहेको मोटरसाईकलाई नियमित गर्नु त ट्राफिक प्रहरीको लागि फलामको च्यूरा सावित भईरहेको बेला तिनैलाई सार्वजनिक यातायातको साधनको रुपमा सहज यात्रुको पहुँच दिदाँ कुन स्थितिको सामना गर्नु पर्दछ होला । नाकाबन्दीको अबसरमा देखिएको सामाजिक सदभावलाई गैरकानुनी रुपमा अर्थोपार्जन गर्ने मानसिकताले गरिएको व्यवसाय मात्र हो । यसले आमसर्वसाधारणलाई कुनै सहजता छैन । यस टुटल र पठाओको पक्षमा सरकार नलागेकै बेस हुनेछ । बरु सरकारले सार्वजनिक बस, माइक्रो वा टेम्पोलाई विहान ५ बजेदेखि राति १० बजेसम्म संचालन गर्ने गरी नियम बनाउनु उपयुक्त हुन्छ । यसो गर्दा रोजगारी पनि सृजना हुने र आमनागरिकले सुविधा पनि पाउने छन् ।

टुटल र पठाऔंको पक्षमा निणय गर्नुु भन्दा पहिले यि विषयको बारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नु पर्दछ ।

  1. साना सवारीसाधन विस्थापित गरी ठुला सार्वजनिक बस चलाउने निर्णय के गर्ने ?
  2. कुन कुन सवारीसाधन सार्वजनिक सवारी साधन हुन ?
  3. मोटरसाईकल कति उपयुक्त सार्वजनिक सवारी साधन हो ?
  4. कानुन र नियम अनुसार मोटरसाईकलको नम्बर प्लेट के गर्ने ?
  5. दर्ता प्रक्रिया के हुने ?
  6. भाडा निर्धारण कस्ले गर्ने ?
  7. विमाको व्यवस्था के हुने ?
  8. अवान्छित क्रियाकलापलाई कसरी निणन्त्रण गर्ने ?





 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411