यी महिला पाँच मिनेटका लागि मरेकी थिइन्, के भएको हो ?

सोमबार, पौष २, २०७५ साल,
काठमाडौं । ‘मेरा ओठ नीलो भयो, मैले सास फेर्नै सकिनँ, मेरो मुटुको ढुकढुकी रोकिएको थियो ।’

लरा डालेसियो आफ्नो कथा सुनाउँछिन् । भन्छिन्, ‘मेरो ज्यान बाँचेन भन्ने मलाई त्यतिखेर लाग्यो । म पाँच मिनेटका लागि मरें । चिकित्सकहरू मलाई बचाउन पूरै कोशिश गरिरहेका थिए ।’

सत्ताईस वर्षीया लरा तीन वर्षअघि कामबाट घर फर्केपछि अचानक बेहोश भएर भुइँमा लडिन् । नर्स पेशामा रहेकी लरालाई कार्डियाक अरेस्ट भएको थियो ।

बेलायतमा ८० हजारभन्दा बढी युवालाई आफू मुटुरोग लिएर बाँचिरहेको थाहै छैन । बेलायती हृदय फाउन्डेसनले यस विषयमा चेतावनी जारी गरेको छ । फाउन्डेसनका अनुसार, यस्ता मानिसका लागि मुटुरोग खतरनाक हुन्छ ।

अन्य युवाजस्तै लरालाई पनि आफूसँग मुटुरोग भएको थाहा थिएन । कार्डियाक अरेस्ट भएपछि उनलाई साथीले अस्पताल पु–याए । इमर्जेन्सीमा उपचारपछि लराको ज्यान बाँच्यो ।

अस्पतालमा उनी तीन दिनसम्म कोमामा रहिन् । उनी भन्छिन्, ‘होशमा आउँदा मैले केही बुझ्नै सकिनँ । म रुन थालें ।’

जाँचेपछि थाहा भयो, लरा लंग क्युटी सिन्ड्रोमबाट पीडित छिन् । यो आनुवंशिक रोग हो जसले मुटुको ढुकढुकीलाई प्रभावित पार्छ ।

लरा भन्छिन्, ‘त्यतिखेर मेरो उमेर जम्मा २४ वर्ष थियो । मलाई यो उमेरमा पनि यस्तो रोग लाग्ला भन्ने लागेकै थिएन । मैले बूढा मान्छेहरू मुटुरोगका कारण मरेको देखेकी थिएँ तर युवालाई त यस्तो हुनु नपर्ने हो ।’

बेलायती हृदय फाउन्डेसनको ताजा अनुसन्धानअनुसार, १५ देखि २५ वर्ष उमेरका लगभग ८३ हजार मानिसमा आनुवंशिक कारणले मुटुरोग लाग्ने जोखिम छ । सानै उमेरमा यसै कारणले उनीहरूको मृत्यु समेत हुन सक्छ ।

यी मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर केही मानिसलाई कार्डियाक अरेस्टको समयमा समस्याको बारेमा थाहा हुन्छ ।

धेरै कम मानिसले मात्र आफ्नो रोगको बारेमा थाहा पाउँछन् । धेरैलाई रोगै थाहा हुन्न ।

सेन्ट जर्ज विश्वविद्यालयमा मुटुरोगका प्राध्यापक एलाइजा बेहर भन्छन्, ‘एकदमै कम मानिसलाई आनुवंशिक कारणले मुटुरोग हुने कुरा थाहा हुन्छ । तर हामी यो रोगबाट पीडित सबै मानिसलाई एकै ठाउँमा मिसाएर हेर्दा यसको
संख्या ठूलो छ । यस्तो मुटुरोगका कारण बेलायतमा हरेक वर्ष लगभग १५ सय मानिस अचानक मर्छन् । यस्ता रोगीको पहिचान गरेर ज्यान बचाउन एकदम गाह्रो हुन्छ ।’

प्राध्यापक बेहर आनुवंशिक कारणले हुने हृदयघातमा अनुसन्धान गरिरहेका छन् । यसको जानकारीले अचानक हुने मृत्यु रोक्न सहायता गर्ने उनले आशा गरेका छन् ।

केही चिकित्सकहरूले रोग पत्ता लगाउनका लागि युवाले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने मान्यता राख्छन् । अन्य चिकित्सकहरू यस क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको बताउँछन् ।

लरा आफ्नो अनुभव शेयर गरेर मानिसहरूमाझ जागरुकता फैलाउन चाहन्छिन् । उनी भन्छिन्, ‘तपाईंहरूलाई पनि यो रोग लागेको हुन सक्छ भनी म बताउन चाहन्छु । मुटुरोग जोकोहीलाई पनि हुन सक्छ ।’

लराको छातीमा एक डिफिब्रिलेटर र पेसमेकर हालिएको छ । आवश्यकता पर्दा उनी यसको उपयोग गर्छिन् । लरा भन्छिन्, ‘अहिले म साथीहरूसँग मज्जाले घुमिरहेकी छु किनकि फेरि कहिले मुटु हान्ने हो थाहा छैन । अर्कोपालि म नबाँच्न पनि सक्छु । म जिन्दगी खुलेर बाँचिरहेकी छु । म बाँचेकोमा भाग्यमानी छु ।’ बीबीसीबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411