माथिल्लो तामाकोशीको १ करोड ५ लाख ९० हजार कित्ता आईपिओ असार २४ देखि आवेदन खुल्यो

मंगलवार, आषाढ १२, २०७५ साल,
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि असार २४ गतेदेखि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियका लागि १० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्न लागेको हो ।

स्थानियको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि माग गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम म्याद साउन ९ गते रहेको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आइपीओमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

साधारण सेयरमा अपर तामाकोशी आयोजना निर्माणस्थल, तथा चरिकोटमा रहेका कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, सेञ्चुरी कर्मर्सीयल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर शाखा, एनएमबि बैंकको किर्नेटार, प्राइम कर्मर्सीयल बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि साधारण सेयरमा आवेदन गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीले स्थानियका लागि १० प्रतिशत र सर्वसाधारणमा १५ प्रतिशत सेयर जारी गर्नेछ । माथिल्लो तामाकोशीले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामा बगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । आगामी पुसभित्र बिजुली उत्पादन गर्नेगरि आयोजनाको काम आगाडि बढिरहेको छ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411