वर्षमा ४ लाख किलो पाचक खान्छन् नेपाली

मंगलवार, माघ २३, २०७४ साल,
काठमाडौं । वर्षौंदेखि नेपाली सञ्चारमाध्यमबाट बाक्लै सुन्दै÷देख्दै आएको एउटा व्यापारिक विज्ञापनको नारा छ– जे आउँछ, मजाले पचाउँछ ! खाएको पचाउने उत्पादन भएको दाबी दर्शाउने यो नारा कुनै ‘पाचक’ ब्रान्डको हो भन्ने थाहा नहुने नेपाली बिरलै छन् । तर, यस्ता पाचक नेपालीको जिब्रोले स्वाद लिँदालिँदै वर्षमा कति खपत हुन्छ भन्ने अनुमान सायदै होला ।

सरकारी आँकडाले भन्छ, नेपालमा वार्षिक ४ लाख किलोभन्दा बढी पाचक खपत भइरहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार, अघिल्लो आर्थिक वर्ष (२०७३-७४) मा ४ लाख ९ हजार एक सय ६५ किलो पाचक आयात भएको थियो । यसमध्ये भारतबाट मात्रै करिब ८९ प्रतिशत (३ लाख ६३ हजार किलो) पाचक आएको देखिन्छ । विभागको तथ्यांकअनुसार भारतसहित चीन, थाइल्याण्ड, दक्षिण कोरिया, डेनमार्क, हंगेरी लगायतका देशदेखि पाचक ल्याएर नेपालीले खाना ‘पचाउँदै’ आएका छन् ।

तर, केही वर्षअघिसम्म भारतीय पाचकमा सीमित नेपालीको पहुँचको दायरा युरोपेली उत्पादनसम्म पुगेको ४ वर्ष मात्र भयो । आव २०७०-७१ यता भारतबाहेकका अन्य देशबाट पनि पाचक आयात गर्न थालिएको अन्तर्राष्ट्रिय व्यापारको अभिलेखले देखाउँछ ।

भारतपछि क्रमशः चीन र थाइल्याण्डबाट पाचक अधिक आयात हुने गरेको छ । अघिल्लो आवमा चीनबाट करिब २६ हजार किलो पाचक ल्याइएको थियो । थाइल्याण्डबाट पनि १८ हजार १ सय ३५ किलो आयात गरिएको तथ्यांकले देखाउँछ । कोरिया, डेनमार्क, हंगेरीलगायतका अन्य मुलुकबाट गरी कुल २ हजार किलोभन्दा बढी पाचक ल्याइयो ।

 पाचकमा कत्तिको खाद्य÷अखाद्य पदार्थको मिश्रणबाट बन्छ, यस्ता वस्तु खाँदा त्यसले स्वास्थ्यमा कुनै प्रतिकुल असर पार्छ÷पार्दैन त्यो अर्को पाटो हो । तर, नखाए पनि हुने यस्तो वस्तुको आयात पछिल्ला केही वर्षयता ह्वात्तै बढ्दै गएको देखिन्छ । पछिल्ला दुई आवकै अवस्था हेर्ने हो भने पनि वर्षमा करिब १ लाख १० हजार किलोले पाचकको आयात बढेको छ । अहिले नेपालीले पाचकमै वर्षको साढे ७ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411