‘हुकिङ हटाऊ, महशुल उठाऊ’ अभियानमा प्राधिकरण

सोमबार, माघ २२, २०७४ साल,
काठमाडौं । ‘हुकिङ हटाऊ महशुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३ सय ७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रू ९० लाख ६४ हजार बराबरको महशुल तिर्न बाँकी छ ।

लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी नियन्त्रण अभियानलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले पछिल्ला दिनमा लामाटार, लाँकुरी भञ्ज्याङ र च्यासल क्षेत्रमा हुकिङ हटाउन अभियानलाई तीव्र पारेको छ । प्रमुख यादवका अनुसार स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधि र नागरिक समाजका अगुवाको सहयोगमा दैनिक तीन दर्जनभन्दा बढी हुकिङ हटाउने र चोरीका उपकरण जफत गर्न थालिएको छ ।

प्राधिकरणले हुकिङ सामग्रीसहित स्थानीयवासीलाई पक्राउ गर्दै कारबाहीको प्रक्रिया शुरु गरेको हो । एक सातामा मात्रै रू छ लाख ५० हजार बराबरको जरिवाना रकमसमेत उठेको छ । चोरी नियन्त्रण अभियानलाई आक्रामक रुपमा सञ्चालन गरिएपछि एकै ग्राहकले रू एक लाख ५० हजारसम्म तिर्न थालेका छन् । प्राधिकरणले मिटर नभएका ग्राहकलाई निवेदन दिएको सात दिनभित्र मिटर उपलब्ध गराउन थालेको छ । महानगर, नगरपालिका र गाउँपालिकाका वडा कार्यालयमा नै विद्युत् मिटर उपलब्ध गराउन शुरु गरिएको प्रमुख यादवले बताए ।

अटेर गर्नेलाई भने कारबाही गर्ने र कुनै पनि दबाबलाई स्वीकार नगर्ने रणनीतिका साथ प्राधिकरण चोरी नियन्त्रण अभियानमा लागेको बताइएको छ । प्राधिकरणका अनुसार ललितपुरमा मात्रै रू ५० करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411