
काठमाडौं । बुधबार नेप्से परिसुचकमा झिनो सुधार देखिएको छ । आज नेप्से परिसुचक २ दशमलव २६ अंकले बढेर १ हजार ४ सय ४ दशमलव ४९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
परिसुचकसँगै बुधबार अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । सोमबार २८ करोड ५५ लाख रुपैयाँको कारोबार भएकोमा आज १५६ कम्पनीको ३१ करोड १५ लाख ३४ हजार २७५ रुपैयाँको शेयर खरिदबिक्री भएका हुन् ।
कारोबारमा आएका दश समूहमध्ये यसदिन जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका सबै समूह बढेका छन् । जसमध्ये सबैभन्दा बढी होटल समूह ३५ दशमलव ९२ अंकले बढेको छ । त्यस्तै बीमा समूह ३१ दशमलव ३४ अंकले, विकास बैंक समूह १० दशमलव १७ अंकले, लघुवित्त समूह ८ दशमलव ०४ अंकले, फाइनान्स समूह ५ दशमलव ७२ अंकले, ट्रेडिङ समूह ४ दशमलव २२ अंकले र बैंकिङ समूह १ दशमलव ९७ अंकले बढेका छन् । गिरावट आएको जलविद्युत समूह ८ दशमलव १ अंकले, उत्पादन तथा प्रशोधन समूह ३ दशमलव ४१ अंकले र अन्य समूह ५ दशमलव ५७ अंकले घटेका छन् ।
बुधबार सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ७ दशमलव ९२ प्रतिशतले बढेको छ । त्यस्तै गोर्खाज फाइनान्स ५ दशमलव ८८ प्रतिशतले बढेको छ । त्यस्तै गुमाउनेमा भने आज ङादी ग्रुप कम्पनीका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मूल्य २ दशमलव ९९ प्रतिशतले घटेको छ ।