काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनिवार्य सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ ।
बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र लागू गर्न भनेको हो । सीडीएसले मंगलबारदेखि नै सी-आस्वा अनिवार्य लागू गरेको जानकारी गराएको थियो ।
सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँट पछि आवेदकको बाँडफाँटमा परेको धितोपत्र बरावरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थाका लागि बोर्डले आस्वा प्रणाली लागू गरेको थियो ।
आस्वा प्रणालीलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले सि-आस्वा प्रणाली लागू गर्न लागिएको हो।
बैंक तथा वित्तीय संस्थाले सी-आस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो ।
हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि-आश्वाको सदस्यता लिएका छन् । सीडीएसले तुरुन्तै सि-आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।