आम्दानी भन्दा खर्च धेरै मुलुक शोधानान्तर घाटामा, निर्यात ३३ अर्ब, आयात ४३१ अर्ब :राष्ट्र बैंक

बुद्धबार, माघ ३, २०७४ साल,
काठमाडौं । देशमा भित्रिने भन्दा देश बाहिरिने रकम बढीभएछि चालु आर्थिक बर्षको पहिलो पाँच महिनमा मुलुकको शोधान्तर घाटा ९ अर्ब नाघेको छ ।

 नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर महिनामा शोधनान्तर अर्थात भुक्तानी सन्तुलनको स्थिति ९ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक छ ।

शोधनान्तर स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा बढी खर्च गर्नु हो । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आएपछि समग्र शोधनान्तर घाटामा गएको राष्ट्र बैंकको भनाई छ ।

अघिल्लो वर्षको पाँच महिनामा शोधान्तर २८ अर्ब ७८ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू खाता घाटा ४१ अर्ब ९५ करोड पुगेको छ । देशको वैदेशिक मुद्रा संचिती भने सुविधाजनक अवस्थामा रहेकाले राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाहमा ह्रास

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भई २८५ अर्ब ४८ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । फलस्वरुप खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटी ३३१ अर्बमा सीमित भएको छ ।

निर्यात ३३ अर्ब, आयात ४३१ अर्ब

राष्ट्र बैंकका अनुसार पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड पुगेको छ । समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ ।

त्यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर ४३१ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब १२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति २०७४ मंसिर मसान्तमा ९३८ अर्ब ७ करोड पुगेको छ ।

नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ४ अर्ब ९३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालू खर्च २२२ अर्ब ६२ करोड तथा पूँजीगत खर्च २४ अर्ब ७९ करोड पुगेको छ ।

उपलब्ध तथ्याङ्कहरुले समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको राष्ट्र बैंकको दाबी छ । हालसालै पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको मुल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम रहेको आँकलन राष्ट्र बैंकको छ । तथापि, वार्षिक औसत मुद्रास्फीति दर प्रक्षेपित सीमा भित्रै रहने अपेक्षा गरेको छ ।

राष्ट्र बैंक भन्छ तरलताको अवस्था सुविधाजनक

आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए तापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जारनिक्षेप तथा पुँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको राष्ट्र बैंकको भनाई छ ।

वित्तीय स्थायित्वको अंकुशको रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ ।

केही सीमित बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411