आफ्नै नाफाबाट बृद्ध भत्ता, सुत्केरी भत्ता र किरिया खर्च दिदै सहकारी, पचास पैसा लगानीबाट करोड नाफा

बिहीवार, मंसिर २८, २०७४ साल,
पाल्पा। पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ नाफा गरेको छ ।

वि।स। २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आर्थिक वर्ष २०७३-७४ सम्ममा शेयर पूँजी चार करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ ।

गत आवमा  ४६ करोड ४५ लाख तीन हजार  बचत र अन्य कोष  चार करोड ५२ लाख ९१ हजार रहेको सहकारीका अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए।

जिल्लाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकासम्म कार्यक्षेत्र विस्तार गरेपछि सहकारीको नौ हजार १५ जना शेयर सदस्य पुगेका छन् । सात हजार ६ सय १६ महिला सदस्य रहेको व्यवस्थापक दीपेन्द्र पौडेलले बताए । ग्रामीण भेगमा बैंकको अभावमा बचत तथा ऋण कारोबार गर्न स्थानीय बासिन्दाले सहकारीमार्फत सजिलो मान्छन् ।

सहकारीले बिभिन्न सामाजिक काममा समेत सघाउँदै आएको छ। पहिलो र दोस्रो बच्चा जन्माउने महिलालाई सुत्केरी स्याहार खर्चबापत पोषिलो आहाराका लागि प्रतिसुत्केरी एक हजार रुपैयाँ समेत दिँदै आएको छ । सुत्केरी भएपछि महिला कमजोर हुने भएकाले पोषण आहाराका लागि भत्ता बाँड्न थालेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए। गत आवमा सहकारीले सुत्केरी स्याहार खर्च ७० जनालाई प्रतिव्यक्ति एक हजारका दरले ७० हजार रुपैयाँ दिइसकेको छ ।

यस्तै सहकारीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । दुई वर्षअघिदेखि ७० वर्ष नाघेका ज्येष्ठ सदस्यलाई मासिक सुरक्षा भत्ता बाँड्दै आएको हो । गत आवमा ४४ जना ज्येष्ठ सदस्यलाई मासिक पाँचसयका दरले प्रदान गरिएको हो ।

सहकारी सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएमा किरिया खर्च प्रदान गरिन्छ । सहकारीको नाफा रकम शेयर सदस्यलाई भन्दा वृद्धवृद्धा, सुत्केरी महिला र किरिया खर्चमा सहयोग गर्न थालेपछि सहकारीप्रति थप आकर्षण बढेको हो ।

सदस्यको मृत्युमा एक हजारदेखि दुई हजार रुपैयाँसम्म १४ जनालाई गरी २२ हजार र सदस्यको श्रीमान् वा श्रीमतीको मृत्यु भएकामा चार हजारका दरले २८ जनालाई सहयोग प्रदान गरिएको अध्यक्ष पंगेनीले बताए । आर्थिक कारोबारसँगै सहकारीले सामाजिक काम गर्न थालेपछि यस जिल्लाको नमूना बन्दै गएको छ ।

सहकारीले पाल्पाका ग्रामीण क्षेत्रमा आर्थिक कारोबारका साथै स्वास्थ्य शिविर, बालमैत्री, महिला लक्षित, विद्यालयस्तरीय सचेतना कार्यक्रम, मोबाइल रिचार्ज सेवा, विप्रेषणलगायतका काम समेत गर्न थालेपछि यस भेगका स्थानीयवासी सहकारीतर्फ आकर्षित बन्दै गएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411