पाँच रुपैयाँ बचत गर्न नसक्ने महिलाले कमाउन थाले वार्षिक डेढ लाख

शुक्रबार, मंसिर १५, २०७४ साल,
बाँके । श्रीमानसँग पाँच रुपैयाँ मागेर शहकारीमा बचत गर्न सुरु गरेका राप्ती–सोनारी गाउँपालिका–७, फत्तेपुरका महिला अहिले वार्षिक एक लाखदेखि डेढलाख रुपैयाँ कमाउन थालेका छन् । व्यवसायिकरुपमा बाख्रा पालन गर्न थालेपछि उक्त वडाका महिलालाई घर व्यवहार, बचत र पकेट खर्चका लागि परिवारका मुलीसँग हात थाप्नु पर्ने बाध्यता हटेको छ ।

६ वर्षअघि स्थानीय १ सय १२ जना महिला संगठित भएर सहकारी संस्था स्थापना गरेपछि यहाँका गृहणी महिलाको आर्थिक उपार्जनमा सुधार आएको हो । आफैले स्थापना गरेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३० हजार ऋण लिएर चार वटा बाख्रा खरिद गरेर व्यवसाय संचालन गरेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्न थालेको राप्ती–सोनारी गाउँपालिका–७, लालपुरकी कौशीला बुढा क्षेत्रीले बताइन् ।

उनले एक वर्षको अवधिमा १५–२० हजार रुपैयाँका दरले १० वटा खसी विक्री गरेको बताइन् । उनले बाख्रा पालन व्यवसाय सुरु गरेपछि घर खर्च र मासिक बचत र आफूलाई चाहिने श्रृंगारका सामान किनमेल गर्नका लागि श्रीमानसँग रकम माग्न नपरेको बताइन् ।

राप्ती–सोनारी गाउँपालिका–७, शान्तिपुरकी विमला शाहीले पनि घर खर्च र मासिक बचतका लागि आफैले आम्दानी गर्न सक्ने भएकी छन् । तेल, नुन किन्नका लागि पतिसँग पैसा माग्नु पर्ने दिन गएको उनले बताइन् । उनले घर व्यवहार र आफ्नो लागि आफै कमाउन सक्ने भएपछि घर व्यवहार चलाउन सजिलो भएको बताइन् ।

‘एक पत्ता टिका किन्नसमेत श्रीमानको मुख ताक्नु पर्ने बाध्यता थियो, बाख्रा विक्री गरेर आम्दानी गर्न थालेपछि लत्ताकपडासमेत किन्न कसैको मुख ताक्नु पर्दैन,’ शाहीले भनिन् । बाख्रा विक्री गरेर वार्षिक एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाइन् । उनले पकेट खर्चका लागि पुरुषहरुले महिलासँग रकम माग्न थालेको बताइन् ।

विदेशीने पुरुषलाई घरमै रोजगारी

कामको खोजीमा भारत जाने श्रीमानहरुको बाध्यतालाई पनि महिलाले कम गरेका छन् । बाख्रा पालन व्यवसायबाट आम्दानी बढेपछि श्रीमानले समेत घरमै रोजगारी पाएको कौशीलाले बताइन् । उनका श्रीमान कामका लागि भारत जाने गरेका थिए । सहकारीमार्फत बाख्रा पालन गर्न थालेपछि श्रीमानले पनि घरमै काम पाउनु भएको छ, बाख्रा पालन व्यवसायले भारत जाने बाध्यता हट्यो,’ उनले भनिन् ।

महिलाले सहकारी मार्फत ऋण लिएर बाख्रा पालन व्यवसाय गरेपछि बेरोजगार पुरुषले रोजगारी पाएको सोही ठाउँकी लक्ष्र्मी कुर्मीले बताइन् । उनले कामका लागि विदेश जाने क्रम केहि कम भएको जानकारी दिइन् । ‘कामको खोजीमा हुलका हुल भारत जानेहरु अहिले घरमै बसेर श्रीमतिको व्यवसायमा सघाइरहेका छन्,’ लक्ष्मीले भनिन् ।

बाख्रा पालन व्यवसायमा ५ सय महिला

६ वर्षअघि स्थानीय १ सय १२ जना महिलाले स्थापना गरेको सहकारीमा अहिले ७ सय ५० जना शेयर सदस्य छन् । भने, ५ सय जना महिला बाख्रा पालन व्यवसायमा संलग्न छन् । सहकारीमा आवद्ध ५० जना महिलाले भैँसी पालन र २५ जनाले लोकल कुखुरा पालन गरेको सहकारी संस्थाका अध्यक्ष सुनिता खाँन ठकुरीले जानकारी दिइन् ।

उनका अनुसार, परनिर्भर महिलाहरु सहकारीमा आवद्ध भएपछि आयआर्जनका लागि विभिन्न किसिमका ब्यवसाय संचालन गरेर जिविकोपार्जनमा सुधार ल्याउन सफल भएका छन् । ‘महिलाको सक्रियतामा छरिएर रहेको पुञ्जी संकलन गरेर घर र समाज सुधारमा लगाउन सफल भएका छौँ,’ उनले भनिन् ।

उनले महिलाको सक्रियतामा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७३÷०७४ मा ३ लाख ८७ हजार ६ सय ६५ रुपैयाँ खुद नाफा गरेको जानकारी दिइन् । यस आर्थिक वर्षमा ३ सय शेयर सदस्य थप गर्ने लक्ष्यका साथ सहकारी अगाडी बढेको उनले जानकारी दिइन् ।

सहकारीको आफ्नै भवन निर्माण

महिलाको लगानी र नेतृत्वमा सञ्चालिन परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाको आफ्नै भवन छ । दुई कोठे पक्की भवनबाट नै सहकारी सञ्चालनमा आएको छ । भाडाको घरमा बस्दै आएको सहकारीले भर्खरैदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।

कुल १२ लाख ९ हजार ३ सय रुपैयाँमा निर्माण भएको अध्यक्ष खाँन ठकुरीले बताइन् । उनका अनुसार भवन निर्माणका लागि राप्ती–सोनारी गाउँपालिकाले २ लखा २५ हजार, महिला तथा बालबालिका कार्यालयले एक लाख ५० हजार र हेफर इन्टरनेशनलले दुईलाख रुपैयाँ प्रदान गरेका थिए । भने बाँकी रकम सहकारी संस्थाले ब्यहोरेको छ । ‘आफ्नै भवनबाट सेवा दिन थालेपछि सजिलो भएको छ,’ उनले भनिन् ।

समाज सेवामा सहकारी


सहकारी संस्थाले व्यवसायका लागि ऋण प्रवाहमात्र नगरि शेयर सदस्यले उत्पादन गरेको खसी, बोकाको बजारिकरणका साथै व्यवसाय सञ्चालनका लागि सीप समेत प्रदान गर्दै आएको छ । खसीको बजारिकरण र खसीको गुणस्तर सुधारका लागि समूहमा छलफल, तालिम र अन्तरक्रिया गरिएको सचिव लक्ष्मी कुर्मी थापाले बताइन् ।

बाख्राको आहाराकालागि डाले र भूइँ घाँस शेयर सदस्यलाई वितरण गरेको जानकारी दिँदै उनले पशुपालक कृषकका लागि पशु विमा कार्यक्रम सञ्चालन गरेको बताइन् । बाढी प्रभावितहरुका लागि शेयर सदस्य तथा ७ सय पशुपालक कृषकलाई राहत सामग्री र पुशका लागि औषधि र पोषणयुक्त दाना वितरण गरिएको सहकारी संस्थाले जनाएको छ । नयाँपत्रिका/विश्वराज पछल्डङ्ग्या

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411