
काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वायर गरि मंसिर २४ देखि एकीकृत कारोबार गर्ने भएको छ ।
राष्ट्र बैंकले मंसिर ४ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर ११ गते अन्तिम स्वीकृति पाएपछि बैंकलाई एकीकृत कारोबारको बाटो खुला भएको हो ।
एकीकृत कारोबार सेञ्चुरी बैंकको नामबाट हुनेछ भने सेञ्चुरी बैंकको प्रधान कार्यालय रहेको पुतलिसडक बाटै सञ्चालन हुने जनाइएको छ ।
एकीकृत कारोबारका लागि तीनवटै संस्थाको तथ्यांकलाई एउटै सफ्टवेयरमा मिलान गर्ने व्यवस्था मिलाउन मंसिर २२ गते अल्पाइन र सेतीको सम्पूर्ण बैंकिङ सेवा बन्द हुनेछ ।
सेञ्चुरीले अल्पाइनको एक सय कित्ता बराबर सेञ्चुरीको ९३ कित्ता तथा सेती फाइनान्सको एक सय कित्ता सेयर बराबर सेञ्चुरीको ७० कित्ता स्वाप रेसियो हुनेगरी प्राप्ती गरेको हो ।
दुबै संस्था प्राप्ती पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब नाघ्नेछ भने शाखा संख्या करिब ९० पुग्ने बैंकले जनाएको छ । साउन १६ गतेदेखि असोज २ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत अर्थात एक अर्ब ८८ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेपछि बैंकको पूँजी ७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुरुप राष्ट्रियस्तरको बाणिज्य बैंकले आठ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने भएकाले अपुग रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरि पुरा गर्नेछ । सेञ्चुरीले गत आवमा ४४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले यसअघि इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गरिसकेको छ ।