​नेप्सेले लागु गर्यो डिम्याट शेयर कारोबारको नयाँ तालिका

बुद्धबार, चैत्र १८, २०७१ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सात वटा कम्पनीको शेयर खरिद बिक्री अनिवार्य रुपमा अभौतिक (डिम्याट) रुपमा गर्नुपर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

नेप्सेले जनाए अनुसार चैत्र २२ गतेदेखि ग्लोबल आईएमई बैंक, हिमालयन जनरल ईन्स्योरेन्स, शिखर ईन्स्योरेन्स, एभरेष्ट फाईनान्स, युनिलिभर नेपाल लिमिटेड, महालक्ष्मी फाईनान्स र तारागाउँ रिजेन्सी होटलका शेयरहरु डिम्याटमा मात्र किनबेच हुनेछ । 

यी शेयरहरु खरिद बिक्री गर्नेहरुले अनिवार्य रुपमा हितग्राही खाता खोली शेयर खरिद गर्नु अगावै सीडीएससीको प्रणालीसँग आबद्ध हुनुपर्ने भएको छ । त्यसैगरी हाल खाली हस्तान्तरण वा अनुसुचीमा रहेका शेयरहरु १५ दिन भित्रमा बेच्नुपर्ने र नबेचेमा शेयर रजिष्ट्रार मार्फत नामसारी गराई प्रमाणपत्र प्राप्त गर्नुपर्ने वा डिम्याट खातामा जम्मा गर्नुपर्ने भएको छ ।

सीडीएससीले यस अघि गत कार्तिक २ गतेदेखि सबै बाणिज्य बैंकहरुको पूर्ण शेयर अभौतिक कारोबार गर्ने कार्यतालिका सार्वजनिक गरेकोमा त्यो असफल भएको थियो । बाणिज्य बैंकहरुको शेयर खरिदकर्ताले डिम्याटमा मात्र शेयर प्राप्त गर्ने ब्यवस्थालाई कायमै राखी नेप्सेले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । सीडीएससीको प्रणालीले दैनिक कारोबारको भार थाम्न नसक्ने अडकलबाजीले पूर्व निर्धारित कार्यतालिका भाँडिएपछि सीडीएससीको सफ्टबेयर बनाउने कम्पनी सीएमसी ईण्डिया लिमिटेडका प्राविधिकहरु झिकाएर नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो ।

सीएमसीकै प्राविधिकहरुको उपस्थितिमा सात वटा कम्पनीहरुको पूर्ण अभौतिक कारोबार परीक्षण हुने भएको छ । यी सातवटा कम्पनीहरुको पूर्ण अभोतिक कारोबारको प्रगति बिबरण हेरेर अर्को साता नेप्सेले थप सातवटा कम्पनीहरुको पूर्ण अभौतिक शेयर कारोबारको कार्यतालिका सार्वजनिक गरी क्रमैसँग सीडीयससीको प्रणालीलाई पूर्ण रुपमा स्वचालित बनाउने योजना बनाएको छ । 

पहिले सबै बाणिज्य बैंकहरुको एकपटक पूर्ण अभौतिक कारोबार र राफसाफ गर्ने प्रयास गर्दा समस्या आउने संभावना देखिएपछि कार्यतालिकालाई निस्क्रिय पारी सीडीयससी पछाडि हटेको थियो । यसपटक सफटबेयर निर्माण गर्ने भारतीय कम्पनीकै प्राविधिकहरुको रेखदेख र निरीक्षणमा पूर्ण अभौतिक कारोबार र राफसाफ हुने भएकाले भार परीक्षण र समस्या उत्पन्न भए समाधान पनि तत्कालै गरिने नेप्सेले जनाएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411