ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त
बुद्धबार, मंसिर १३, २०७४ साल,

काठमाडौं । ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनुभएका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लण्डनबाट एमबीए गर्नुभएका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव संगालिसक्नु भएको छ ।
उहाँले सन् १९८७ मा इन्ट्री लेभलमार्फत् नबिल बैंकबाट आफ्नो करियर शुरु गर्नुभएको थियो । नबिल बैंकमा ११ वर्ष काम गरेपछि उहाँ तत्कालीन एनआईसी बैंक जानुभएको थियो ।
एनआईसी बैंक स्थापनामा सक्रिय भूमिका खेल्नु भएका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरेपछि लक्ष्मी बैंकमा जानुभएको थियो । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन जानुभयो । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उहाँसँग रहेको छ । उहाँले त्यहाँ साढे चार वर्ष काम गरेको अनुभव संगाल्नुभएको छ । त्यसपछि उहाँले तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम शुरु गर्नुभएको थियो ।