नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% लाभांश साधारणसभाबाट पारित, ४ सञ्चालक चुनिए
मंगलवार, कार्तिक ७, २०७४ साल,

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले प्रस्ताब गरेको ४० प्रतिशत लाभांस पारित भएको छ । बैंकको मंगलबार सम्पन्न ३१औं वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताब सर्वसहमतिले पारित गरेको हो ।
साधारणसभाले ४ जना सञ्चालक निर्वाचित गरेको छ । पृथ्वीबहादुर पाँडे, कबिकुमार टिवरेवाला, प्रजन्यराज भण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चित कोषमा पनि ८ अर्ब ८ करोड रुपैयाँ जम्मा भएको छ भने सेयरधनी कोषमा १८ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकाभित्र २३ र मोफसलमा ३८ गरी जम्मा ६१ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । साथै, बैंकका ३ वटा एक्सटेन्सन काउन्टर र ९९ वटा एटीएम सञ्चालनमा छन् ।