दोब्बर उत्पादन भएपछि किसान चैते धानखेतीतर्फ आकर्षित

बुद्धबार, जेष्ठ २४, २०७४ साल,
काठमाडौं । बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।

छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । माघको अन्तिम हप्ता बेर्ना राखेर फागुनको मध्य र चैतको पहिलो हप्ता चैते धानको रोपाइँ गर्ने किसानको सङ्ख्यामा यहाँ एक सय ५० भन्दाबढी रहेको छ ।

झिलमिलाका किसान ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्दै आएका छन् । स्थानीयवासी तेजबहादुर रावतले प्रतिवर्ष १८ हजार रकम तिर्ने गरी जग्गा भाडामा लिई चैते धानखेती गर्दै आएका छन्।

चैत महिनामा रोपेको धानको उत्पादन चार महिनामै ३० बोरा बढी हुने गरेको उनले बताए।

‘परम्परागत धानबालीको तुलनामा आधुनिक तरिकाले चैते धानको खेती गर्दा उत्पादनमा वृद्धि हुने गरेको छ,” उनले भने। दुई वर्षदेखि चैते धानखेतीमा संलग्न छविलाल सेजवाल रासायनिक मल, तोरीको पिना र पोटासको प्रयोग गरे चैते धानले अधिक उत्पादन दिने बताउछने। डेढ बिगाहा खेतमा गत वर्ष ४० बोरा धान फलेको उनले बताए।

महाकाली सिँचाइको नहर पुगेपछि यस क्षेत्रका किसानले चैते धानखेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रका किसानले वर्षमा दुई बाली मात्रै भित्र्याउँदा झिलमिलाका किसानले वर्षमा चैते धान, बर्खे धान र गँहुबाली गरी तीन बाली भित्र्याउने गरेका छन् ।

चैते धानबालीकै कारण किसानको आयस्तरमा समेत वृद्धि हुँदै गएको छ । थोरै जग्गामा गरिने खेतीले परिवार पाल्न यहाँका किसानलाई विगतमा निकै सास्ती हुने गरेको थियो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार महाकाली सिँचाइको सुविधा पुगेका भीमदत्तनगरपालिकाको वसन्तपुर, बेदकोट नगरपालिकाको दैजी र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा गरी ८५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको छ । आव २०७२÷७३ देखि बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैते धानखेती गर्ने किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन पुरुस्कार समेत दिने गरेको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए।

पाँच हेक्टर क्षेत्रफलको नमुना ब्लक बनाई चैते धान उत्पादन गर्ने कृषक समूह र सहकारीलाई ५० हजार प्रोत्साहन पुरस्कार तथा १० वटा झार निकाल्ने मेसिन उपलब्ध गराएको जोशीले बताए। कार्यालयले चार सय हेक्टर जग्गामा यस वर्ष प्रोत्साहन रकम दिने योजना बनाएको छ । किसानलाई यस वर्ष ४० क्विन्टल चैते धानको बीउ निःशुल्क उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

‘मसिनो चामल आयात हुँदै आएकाले त्यसलाई निरुत्साहित गर्न चैते धानखेतीमा जोड दिइएको हो’ जोशीले भने। गत वर्ष कार्यालयले बेलडाँडी झिलमिलाका ३४ दशमलव १३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्ने ३७ किसानलाई एक लाख ९५ हजार प्रोत्साहन रकम उपलब्ध गराएको थियो ।

कार्यालयले बेलौरी नगरपालिकाका चैते धानखेती गर्ने छजना किसानलाई २२ हजार, झलारी कृष्णपुरका किसानलाई रु सात हजार पाँच सय, बेदकोटका पाँच किसानलाई रु २५ हजार र भीमदत्तनगरपालिकाका ३४ किसानलाई ९० हजार प्रोत्साहन रकम उपलब्ध गराएको थियो । किसानले हर्दिनाथ जातको चैते धानको खेती गर्दै आएका छन् । चैते धान काटेर भित्राएपछि किसानले सो जग्गामा तरकारी खेती र बर्खे धान रोप्ने गरेका छन । चैते धानको खेती कञ्चनपुरमा विसं २०५७ देखि गरिँदै आएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411