आगामी साता अर्घाखाँची सिमेन्टको व्यवसायिक उत्पादन,

१२ सय मेट्रिकटन उत्पादन क्षमता, लगानी ३ अर्ब

सोमबार, मंसिर २२, २०७१ साल,
मंसिर - २२ काठमाडौं मुरारका ग्रुपले संयुक्त लगानीमा भैरहवामा देशकै एक ठूलो सिमेन्ट उद्योग स्थापना गरेको छ । मुरारका समूहले स्थानीय दुई समूह र एक विदेशी लगानीकर्तासँग मिलेर करिब तीन अर्ब रुपैयाँ लगानीमा अर्घाखाँची सिमेन्ट उद्योग स्थापना गरेको हो । 
 
नेपालका मुरारका ग्रुप, सिद्धार्थ ग्रुप र केडिया ग्रुपले यो सिमेन्ट उद्योगमा लगानी गरेका छन् भने भारतको उमा सिमेन्ट इन्टरनेशनलले पनि लगानी गरेको छ । मुरारका ग्रुपको ३०, सिद्धार्थ समूहको ३५, केडिया समूहको १७.५ र भारतीय पक्षको १७.५ प्रतिशत लगानी छ । 
 
सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक १२ सय टन छ । अहिले परीक्षण उत्पादन गरेको उद्योगले एक साताभित्रै व्यवसायिक उत्पादन थाल्ने जानकारी उद्योगका सञ्चालक पशुपति मुरारकाले दिए । अर्घाखाँची सिमेन्ट उद्योगको समूहले डाइनेस्टि सिमेन्ट उद्योग किनेर क्षमता बृद्धि गरेको हो ।
 
‘नेपाल गुणस्तर चिन्ह पाएकै दिनदेखि व्यवसायिक उत्पादन सुरु हुन्छ, मुरारकाले भने, सबै प्रक्रिया पुरा भइसकेको छ, संभवत अर्को साता सिमेन्ट बजारमा जान्छ ।’ नेपाल नापतौल तथा गुणस्तर विभागले गरेको परीक्षणमा अर्घाखाँची सिमेन्ट पास भइसकेको छ ।
 
कम्पनीले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्ने छ । ठूला पूर्वाधार आयोजनाहरु उद्योगका प्रमुख ग्राहक हुन् । कम्पनीले जर्मन प्रविधि प्रयोग गरेको छ । 
 
क्षमताको ९० प्रतिशतसम्म उद्योग चल्ने अनुमान सञ्चालकहरुले गरेका छन् । ठूला पुर्वाधार आयोजना निर्माण तिब्र हुने र नयाँँ ठूला आयोजना बन्ने संभावना रहेको कारण जडित क्षमताको ९० प्रतिशत उद्योग सञ्चालन हुने अनुमान गरिएको हो । 
 
सरकारले केही प्रावधान खुकुलो बनाए क्षमता बढाउने जानकारी पनि मुरारकाले दिए । १२ सय टनभन्दा बढीको क्षमता जडानमा इआइए गर्नु पर्छ । इआइएको प्रक्रिया केही झण्झटिलो छ ।

‘इआइए प्रावधान केही खुकुलो बनाउने हो भने हामी यसलाई दैनिक २४ सय टन क्षमतामा अपग्रेड गर्छौ,’ मुरारकाले भने । 
 
उद्योगले छ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘हाम्रो पेरोलमै छ सय छन्’, उद्योगका सञ्चालक राजेश अग्रवालले भने, अप्रत्यक्ष रोजगारी अझ धेरैले पाएका छन् । 
 
यसअघि क्ङिकर उत्पादन गरेर विक्री गर्दै आएको यो समूहले अब सिमेन्ट उत्पादन गरेरै बजारमा पठाउने भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411