शेयरबजारमा न्यून प्रतिशतको कमी, १ अर्ब ३८ करोड रुपैयाँको कारोबार

बिहीवार, बैशाख ७, २०७४ साल,
काठमाडौं । साताको अन्तिम दिनको व्यापारमा परिसूचक न्यून प्रतिशतले घटेको छ । दिनभरिको उतारचढावमा रहेको बजार अन्त्यमा भने घटेर बन्द भएको छ ।

अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट बुकिङ गर्न थालेपछि यस दिन बजार घटेको एक विश्लेषकले बताए । परिसूचक घटेपनि कारोबार रकममा २९ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । यस दिन होटल, बीमा र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।

यस दिन शेयर बजार शून्य दशमलव २२ प्रतिशत अर्थात् ३ दशमलव ६८ अङ्क घटेर १ हजार ६ सय ५८ दशमलव ३४ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम कारोबार रकम रू। ३१ करोड ७८ लाख बढेको छ । बिहीवार कारोबार रकम बढेर रू १ अर्ब ३८ करोड पुगेको छ भने कुल बजार पूँजीकरण घटेर रू १९ खर्ब १२ अर्ब पुगेको छ ।

यस दिन ‘अन्य समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत बढेको छ । नेपाल दूर सञ्चार कम्पनीको शेयर मूल्य रू। ४ ले बढेपछि उक्त समूहको परिसूचक बढेको हो साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत र होटलको शून्य दशमलव ३५ प्रतिशत घटेको हो ।

त्यस्तै, मिर्मिरे फाइनान्स डेभलपमेण्ट बैङ्क र काबेली विकास बैङ्कको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । साथै, मेरो माइक्रोफाइनान्स, नागबेली लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, ग्रीन डेभलपमेण्ट, आइएलएफसीओ माइक्रोफाइनान्सको ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म बढेको छ ।

तर, तिनाउ डेभलपमेण्ट बैङ्क, साङ्ग्रिला, रुरल माइक्राफाइनान्स, स्वावलम्बन र निर्धन उत्थान जस्ता विकास बैङ्कहरुको शेयर मूल्य घटेपछि विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशत घटेको हो ।

वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत घटेको छ । अधिकांश वित्त कम्पनीहरुको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक ७ दशमलव ३५ अङ्क घटेको हो । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभर शोल्ड जोन अथवा ७० दशमलव ६२ स्केलमा रहेको छ । यसले बजारमा वित्त कम्पनीहरुको शेयरको विक्री चाप उच्च रहेको देखाउँछ । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २५ प्रतिशत र जलविद्युतको शून्य दशमलव १२ प्रतिशत घटेको हो ।

प्रभु बैङ्कको रू ७ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ । यस बैङ्कको शेयर मूल्य रू ४ ले बढेर अन्तिम मूल्य रू ४ सय ३० पुगेको छ । बैङ्कको ४ सय ६६ पटकको व्यापारमा १ लाख ८४ हजार ७ सय ७६ कित्ता शेयर कारोबार भएको हो । सो दिन ५० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ७६ कम्पनीको शेयर मूल्य घट्यो र १७ कम्पनी स्थिर रहेको हो ।

दिनभरिमा १ सय ४३ कम्पनीको ८ हजार ४ सय ७० पटकको व्यापारबाट १८ लाख १७ हजार २ सय ४५ कित्ता शेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411