​मैना सुनुवार हत्याकाण्डः दश वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई जन्मकैदको फैसला

सोमबार, बैशाख ४, २०७४ साल,
बनेपा । सशस्त्र द्वन्द्वकालमा भएको गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । 

जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए । चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ । 

काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको चारदिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको लामो दबाबमा दुई वर्ष आठ महिनापछि उत्खनन गर्दा कङ्काल भेटिएको थियो । 

सुनुवारको हत्याको आरोपमा वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन, सुनिल अधिकारी र सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाई विसं २०६४ माघ ७ गते अभियोग दर्ता भएको थियो । तर २०७० असोज १ गतेदेखि मुद्दा मुल्तबीमा राखिएको थियो । तर सुनुवारकी आमाले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा निवेदन दिएपछि मुद्दा फेरि जागेको थियो । तत्कालीन महासेनानी खत्री काठमाडौँका, सहसेनानी पुन रुपन्देहीका, सहसेनानी अधिकारी दोलखाका हुन् । 

फैसलापछि मैनाकी आमा देवीले फैसला कार्यान्वन हुनुपर्ने उल्लेख गर्दै पीडकलाई तत्काल कारबाहीको माग गरिन् । नेपाली सेनाले सैनिक अदालतमार्फत कारबाही भएको जिकिर गर्दै आएको छ भने प्रहरीले पनि सेनाविरुद्धको जाहेरी दर्ता अस्वीकार गरे पनि सर्वोच्च अदालतको आदेशपछि मात्रै मुद्दा दर्ता भएको थियो । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411