​दोस्रो र तेस्रो किस्ता पाउने बेलामा चितवनका भूकम्पपीडितलाई भने बल्ल पहिलो किस्ता

बुद्धबार, चैत्र ३०, २०७३ साल,
चितवन । भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा यहाँका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरणका लागि मङ्गलवारदेखि सम्झौता थालिएको छ । 

भूकम्पले प्रभावित क्षेत्रमा पर्ने हालको इच्छाकामना गाउँपालिका साविक दारेचोक गाविसमा एक कार्यक्रमको आयोजना गरी पहिलो किस्ता वितरणका लागि सम्झौता थालिएको हो । भूकम्पबाट क्षति भएका १७ जिल्लाभित्र चितवन पर्दछ । चौध जिल्लाभित्र परेकाले दोस्रो र तेस्रो किस्ता पाउने बेलामा चितवनमा भने पहिलो किस्ताको रकम बाँड्ने सम्झौता थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, सशस्त्र प्रहरीका वरिष्ठ उपरिक्षक हरिशङ्कर बुढाथोकी, राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका परामर्शदाता महेश महर्जनलगायतको उपस्थितिमा सम्झौताको थालनी गरिएको हो । सम्झौतापछि पीडितको खातामा पहिलो किस्ताबापत रू ५० हजार जम्मा हुनेछ । सो गाउँपालिकाका पीडितको हकमा सोही गाउँपालिकामा रहेका कृषि विकास बैङ्क र गरिमा विकास बैङ्कमा खातामा जम्मा हुने व्यवस्था गरिएको छ । 

औपचारिक शुभारम्भ कार्यक्रमपछि सम्बन्धित वडा कार्यालयबाट पीडितसँग राहतका लागि सम्झौता थालिएको स्थानीय विकास अधिकारी सुवेदीले जानकारी दिए । भूकम्पलगत्तै जिल्लाका पहाडी गाउँसहित १८ हजार ७ सय ५२ घरपरिवारले भूकम्पबाट प्रभावित भएको भन्दै दैविक प्रकोप उद्धार समितिमा निवेदन दिएका थिए ।

राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणको इञ्जिनियर सहितका टोलीले सर्वेक्षण गरी १५ हजार २ सय ७० घरपरिवारको सूची तयार पारेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले बताए । यद्यपि घरको अवस्थाका बारेमा छानबिन भइरहेकाले राहत पाउने सबैको यकिन सूची भने केही दिनमा सार्वजनिक गरिने उनले जानकारी दिए ।  

जिल्ला समन्वय समिति चितवनका प्रकोप सम्पर्क व्यक्ति लुईंटेलका अनुसार यकीन क्षतिको विवरण तत्कालीन दारेचोक, सिद्धि र लोथर गाउँको आएको छ । जसमध्ये दारेचोक एक हजार ११५, सिद्धि २९४ र लोथर ४४० घरपरिवार रहेका छन् । पहिलो किस्ता पाएका पीडितले घर डिपिसी सम्पन्न गरेपछि रू एक लाख ५० हजारको दोस्रो किस्ता पाउनेछन् भने काम सम्पन्न भएपछि बाँकी रू एक लाख पाउने लुईंटेलले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411