आजदेखि थप १७ जिल्लामा पहिलो किस्ता वितरण गरिने, कास्कीको लुम्लेबाट अनुदान वितरण शुरू

सोमबार, चैत्र २१, २०७३ साल,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण शुरू गर्ने भएको छ ।

प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई घर बनाउन दिने रू। तीन लाख अनुदानमध्ये पहिलो किस्तावापतको रू। ५० हजार वितरण गर्न लागेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले सोमवार कास्कीको लुम्लेबाट अनुदान वितरण शुरू गर्नुहुने कार्यक्रम छ ।

कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका दुई हजार २ सय ३८ घरधुरीमध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् । भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ ।

बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणका सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताए ।  सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सङ्कलन हुन सकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क  विभागले बताएको छ । प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क सङ्कलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको रू। ५० हजार वितरण गर्न स्वीकृति दिइसकेको छ । अब बस्ने कार्यकारी समिति बैठकले बाँकी लाभग्राहीको सूचीलाई अनुमोदन गर्नेछ ।

प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने प्रक्रिया पूरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्तासमेत लिइरहेका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411