सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता, कमिशनको निउँमा रद्द भयो जडान प्रक्रिया

आईतवार, चैत्र ६, २०७३ साल,
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ । सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ १० गते सूचना प्रकाशन गरेको थियो ।

बोलपत्र आह्वान गरेको नगरपालिकाले फागुन १२ गते रितपूर्वक तीनओटा कम्पनीले बोलपत्र पेस गरेकामा सूर्य रोशनी इण्डष्ट्रियल प्रालि पुतलीसडक काठमाडौंलाई जडानका लागि छनोट गरेको थियो ।

बत्ती जडानका लागि सूर्य रोशनीलाई स्वीकृति दिइएको तर नगरपालिकाका केही कर्मचारीले रकम माग गरेपछि उसले कमिशन रकम दिन नसक्ने भनेसँगै जडान प्रक्रिया रद्द गरेको खुल्न आएको छ । नगरपालिकाले टेण्डर आह्वान गरेको प्रथम पटककोे प्रक्रियालाई रद्द गरी पुनः अर्को सूचना चैत ३ गतेको दोलखाको स्थानीय दैनिकमा प्रकाशन गरेको छ । स्रोतका अनुसार नयाँ प्रक्रिया थालेर नगरपालिकाका कर्मचारीले कमिशन खान अर्को सूचना निकालेको बुझिएको छ ।

सूचनामा पुनः अर्कोपटक सूचना प्रकाशन गर्दा पनि नगरपालिकाले दोस्रोपटक प्रकाशित भनेरसमेत उल्लेख गरेको छैन । यता, सौर्य बत्ती खरीद तथा जडान प्रक्रियाबारे भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विकलाई जिज्ञासा राख्दा कार्यालयभित्रकै कर्मचारीबीच विवाद र समन्वय नहुँदा टेण्डर प्रक्रिया रद्द गरेको बताए । उनले आफू कुनै कमिशन र आर्थिक चलखेलमा नलागेको दाबीसमेत गरे । विकले संस्थाभित्र समन्वय नभएकै कारण प्रक्रिया उल्ट्याएको स्वीकार गरे । माघ महीनामा निकालिएका सूचनामा रकम उल्लेख गरिएको छैन भने दोस्रो सूचनामा रू। ९१ लाख २७ हजार १२३ को बोलपत्र आह्वान गरिएको छ ।

नगरपालिकाका स्थानीयवासी कमिशनको लोभमा कर्मचारीले पटकपटक सूचना निकालेर टेण्डर प्रक्रिया थाल्नु र रद्द गर्नुले नगरपालिकाको दुर्नियत रहेको बताउँछन् । एक स्थानीयवासी भन्छन् – यो सरासर नगरपालिकाको कमाउने धन्दा हो । उज्यालोबाट अँध्यारोमा धकेल्न नगरपालिकाका कर्मचारी उद्यत छन् ।

एक व्यक्तिको दुई ठाउँमा सरुवा

दोलखाको भीमेश्वर नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत नरबहादुर विकको दुई स्थानमा सरुवा भएको छ । विकको स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको सरुवाको सूचीमा दुई ठाउँ सरुवा भएको देखिन्छ । विकको धनुषाको मिथिला नगरपालिकाको कामु पदमा र कञ्चनपुरको बेलौरी नगरपालिकामा निमित्त प्रमुखका लागि सरुवा भएको छ । विकले भने आफूलाई जता अनुकूल हुन्छ उतै जानेसमेत बताएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411