
काठमाडौं । नेपाल सरकारलाई ३३ अर्ब पूँजीगत लाभकर नतिरेको एनसेलका सेवाहरु बहिष्कार गर्न युवा बिद्यार्थीहरुले अभियान सुरु गरेका छन् ।
युवा बिद्यार्थीहरुको एक समूहले चैत्र २ गते राजधानीको माईतीघरमा ब्यानरसहित बिरोध जनाएर एनसेल बहिष्कार अभियान सुरु गरेका हुन् ।
उनीहरुले एनसेलले स्वामित्व हस्तान्तरण वापत पूँजीगत लाभकर नतिरेसम्म उसका सबै प्रकारका सेवा बहिष्कार गरी दबाब दिन सर्बसाधारणसँग अपील गरेका छन् ।
एनसेलको पूर्व माउ कम्पनी टेलिया सोनेराले एक्जियटालाई ८० प्रतिशत स्वामित्व बेच्दा लाग्ने पूँजीगत लाभकर नतिरेपछि बिबाद उत्पन्न भएको हो । एक्जियटा र एनसेलले पूँजीगत लाभकर आफुले तिर्ने नभई टेलिया सोनेराले तिर्नुपर्ने भन्दै आएको छ भने टेलियासोनेराले नेपाल सरकारलाई लाभकर नतिर्ने अडान लिएको छ ।
यसैबीच नेपाल सरकारको मन्त्रिपरिषदले टेलिया सोनेराबाटै लाभकर असुल्ने निर्णय गरेर कर असुलीलाई उन्मुक्ति दिन खोजेको भन्दै जनस्तरमा आक्रोश बढेको छ ।
एनसेलको टेलिफोन र ईन्टरनेट सेवा गुणस्तरीय भए पनि महसुल ज्यादै चर्को भएकाले नेपाली उपभोक्ताले आफु ठगिएको गुनासो गर्दै आएका छन् ।
संसदको अर्थ समितिले एनसेलले सबै कर चुक्ता नगरेसम्म कुनै पनि प्रकारको सेवा बिस्तार र हक हस्तान्तरण नगर्न सरकारी निकायहरुलाई निर्देशन दिएको छ ।