८ बैङ्कको लगानी रहेको अप्पर सोलुखोलाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न

आईतवार, फागुन १५, २०७३ साल,
सोलुखुम्बु । सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 

अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । 

ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महीनामा आयोजना निर्माण पुरा गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा काम भइरहेको हो । 

संरचनागत विवरणरप्रगति 

आयोजनाको सम्पन्न ४० प्रतिशत निर्माणमध्ये बाँधस्थलको प्रगति बढी देखिएको छ । बाँधस्थलमा करीब ७० प्रतिशत निर्माण कार्य भइसकेको छ भने बाँध भन्दा तल एक सय २० मिटर तल डिसेन्डर पोखरी निर्माण भइरहेको छ । यसको करीब ८० प्रतिशत निर्माण बाँकी छ ।

डिसेन्डरमा छानिएको पानी विद्युत गृहसम्म पु¥याउन ‘लो प्रेसर’ र ‘हाइ प्रेसर’ पेनस्टक पाइप जडान गरिने भएको छ । दुई दशमलव पाँच मिटर ब्यास र एक दशमलव नौ मिटर उचाइका पेनस्टक पाइप ठेकेदार ‘सिई कन्सट्रक्सन’ले आयोजनास्थलमै निर्माण गर्दै जडान गरिएको छ । कूल चार दशमलव तीन किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाले जनाएको छ । यो बीचमा एक सय ७० मिटर सुरुङ पनि निर्माण हुँदैछ । 

आयोजनामा एक दशमलव दुई मिटर उचाई र चार दशमलव तीन मिटर लम्बाइका तीनओटा इन्टेक गेट रहनेछन् । तीनओटै गेटको निर्माण सकिएको छ । बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लम्बाई तथा तीन मिटर उचाइकै दुईओटा गेट भएको ‘स्लुइस’ पनि निर्माण गरिएको छ । 

विद्युतगृहमा ११ दशमलव ७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुईओटा जेनेरेसन युनिट राखिनेछ । आयोजनाबाट वार्षिक १ सय ३२ दशमलव ५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोरमा जडान हुनेछ । प्रसारण लाइनको अध्ययन, डिजाइनलगायत काम पूरा भएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहबाट तीन किलोमिटर दुरीको तिङ्लास्थित लाम्मानेमा निर्माण हुने सवस्टेसनमा प्रवद्र्धक आफैंँले प्रसारण लाइन निर्माण गर्ने भएको छ । लाम्माने सव स्टेसनसम्म १२ ओटा टावर स्वदेशकै ऊर्जा इन्टरनेसनलले निर्माण गर्ने तय भएको छ । 

निर्माणाधिन सोलु करिडोर सुस्तगतिमा अगाडि बढेको टिप्पनी गर्दै आगामी २२ महीनाभित्र आयोजनाबाट विद्युत् उत्पादन भए पनि प्रशारण भने नहुने प्रवद्र्धकको चिन्ता छ । तोकिएको समयमा प्रसारण लाइन निर्माण नगरे वा अन्य कुनै कारणले प्राधिकरणले विद्युत् लिन नसके कूल ऊर्जा उत्पादनको ४५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान विद्युत् खरीद सम्झौतामा उल्लेख छ । 

लगानी 

आयोजनामा लक्ष्मी बैङ्कको अगुवाइमा आठओटा बैङ्कले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । लक्ष्मी बैङ्कसहित नेपाल इन्भेष्टमेण्ट, एनएमबी, एभरेस्ट, एनआइसी एसिया, ग्लोबल आइएमई, लुम्बिनी, सेन्चुरी कमर्सियल बैङ्क र जलविद्युत् लगानी तथा विकास कम्पनीले रू तीन अर्ब सात करोड ५० लाख ऋण लगानी गरेका छन् । 

लक्ष्मी, नेपाल इन्भेष्टमेण्ट र एनएमबी बैङ्कले रू ५०÷५० करोड, एभरेष्ट बैङ्कको ४० करोड, एनआइसी एसियाको ३४ करोड १२ लाख ५० हजार, सेन्चुरी कमर्सियलको २४ करोड ३७ लाख ५० हजार लगानी गरेका छन् । यस्तै जलविद्युत् कम्पनीको रू २० करोड, ग्लोबल आइएमई र लुम्बिनी बैङ्कको साढे १९÷साढे १९ करोड बराबरको लगानी छ । आयोजनाको ऋण सम्झौता हुँदा अनुमानित लागत रू चार अर्ब १० करोड निर्धारण गरिए पनि सम्पन्न हुँदा रू चार अर्ब ४० करोड पुग्ने आयोजनाले अनुमान गरेको छ । 

कुल लागतको २५ प्रतिशत स्वपूँजी रहने छ । सन् २०१२ बाट निर्माण शुरू गर्ने तालिका रहे पनि प्राधिकरणले समयमा पिपिए नगर्दा काम शुरू गर्न ढिला भएकाले लागत थपिन गएको कम्पनीको दाबी छ । सन् २०१८ को अक्टोबरसम्ममा आयोजनाले व्यापारिक उत्पादन थाल्ने दावी कम्पनीको रहेको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411