विकट जिल्लामा जुत्ता सिलाएरै लखपति बन्दै कल्चु

बिहीवार, फागुन १२, २०७३ साल,
बाजुरा  ।  जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्ने छाप्रो रहेको छ । त्यही छाप्रोमा जुत्ता सिलाउँदै जिल्लाको बाँधु–३ घर भएका ४० वर्षीय कल्चु सार्कीका २० वर्ष बितेका छन् । उनका दिन च्यातिएका जुत्ताचप्पल सिलाउँदै बितेका छन् । अठार वर्षको कलिलो उमेरमा कोही साथी स्कुल पढ्न थाले त कोही बिहे गरी अन्य व्यवसायतिर लागे । उनी भने कोल्टीमा जुत्ता सिलाइको तालीम लिन थाले ।

सानैदेखि उनी अपाङ्ग  थिए । उनका हात चल्छन् तर खुट्टा नचल्ने भएकाले हिडडुल गर्न सक्दैनन् । त्यसैले पनि उनी भारतमा जान सकेनन् । उनले जुत्ता सिलाउने तालीम पाएपछि सार्कीको जीवनको सहारा बनेको हो ।  उनी जन्मेपछि सानै उमेरमा आमाबुबाको मृत्यु भएको थियो । उनलाई दाजु र भाउजूले समेत साथ दिनुको साटो घरबाट निकालिदिएको उनले गुनासो गरे । विस२०५४ सालमा सेनाको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमा कोल्टीबाट सदरमुकाम मार्तडीमा आएका उनले व्यवसाय शुरू गर्नका लागि जुकोट गाविसका नरबहादुर शाहीसँग रू। पाँच हजार हुँदै  रू १६ हजारसम्म ऋण लिए । व्यवसाय शुरू गरेपछि शाहीको साँवा र ब्याज गरी रू ३२ हजार ऋण तिरेका थिए ।

शुरूमा बजार कम विस्तार भएको थियो । तर पछि आएर जनआन्दोलन शुरू हुने बेलाभन्दा अगाडि नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी चँुडिएका च्यातिएका जुत्ताचप्पल सिलाउन आउनेको लाइन हुन्थ्यो । कुनै समय च्यातिएका जुत्ता सिलाएर उनले दैनिक रूपमा रू १८ हजार पनि कमाए । पहिले दैनिक रू १८ हजार कमाउने कल्चु सार्की अहिले भने व्यापार घटे पनि चुँडिएका जुत्ता सिलाएर मासिक रू १६ हजार कमाउने गरेका छन् । उनले बिस्तारै विभिन्न तालीम लिँदै गए तालीम लिएपछि जुत्ता सिलाएर जीवन चल्ला भनेर । उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन् । कल्चुले २० वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन्, आफ्ना एक छोरा र एक छोरीलाई जिल्लाकै हैसियत राख्ने विद्यार्थी बनाउने सोचमा रहेका छन् ।

 जेठी छोरी मालिका उच्च माविमा कक्षा ८ मा अध्ययन गर्दैछिन् । उनको छोरा बोर्डिङमा नर्सरीमा अध्ययन गर्दै आइरहेका छन् । सदरमुकाममै पनि पहिले गाउँमा सिकेको र तालिम लिएको सीप देखाउँदा तल्लो जातिको भनेर धेरैले नकारात्मक दृष्टिले हेर्ने गर्थे ।

अहिले जिल्लाका कार्यालय प्रमुखदेखि नेता, पत्रकार र सुरक्षा निकायका उच्च तहकाले पनि सम्मान गर्न थालेका छन् । उनले आफूले मात्र सीप सिकेनन् । आफूसँग भएकी धर्मपत्नीलाई समेत जुत्ता सिलाउन सिकाएका छन् । आफू कामको सिलसिलामा जिल्लाबाहिर गएका बेला आफ्नी श्रीमतीले सघाउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘व्यवसाय गरेर मात्र केही हँुदैन । ग्राहकलाई शिष्ट व्यवहार गर्नुपर्छ । सार्कीको पेसाबाट पत्नी र छोराछोरी खुसी छन् ।’

उनले त्यही पेसा अङ्गालेर नेपालगञ्जको वनकटुवा गाविसमा डेढ कट्ठा घरेडी लिएका छन् । डेढ कट्ठा जमिन घर बनाउनका लागि रू साढे १३ लाखमा किनेका छन् । उनले अब बाजुरामा भन्दा नेपालगञ्जमा जुत्ता सिलाइको उद्योग खोल्ने सोच बनाएका छन् । फाटेका जुत्ता सिलाउँदै उनको जीवन बितिसकेको छ । तर उनका छोरा र छोरी अझै आफ्नो खुट्टामा उभिन सक्ने भएका छैनन् । उनीहरूलाई आफूले चाहेको जस्तो बनाउन मैले जुत्ता सिलाएर पढाउनुपर्ने भएको छ, उनी भन्छन् ।

अहिले सदरमुकाम मार्तडीमा जुत्ता सिलाउने दुईओटा पसल मात्र रहेका छन् । उनी अरूको घरमा बसेर मासिक रू ६ सय भाडा तिर्ने गरेका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही व्यवसाय गर्दा सजिलो हुने गरेको अनुभव उनी सुनाउँछन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411