देशको समष्टिगत आर्थिक अवस्था सबल, नियमित ऊर्जा आपूर्तिले औद्योगिक उत्पादन बढ्ने

शुक्रबार, फागुन ६, २०७३ साल,
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा देशको समष्टिगत आर्थिक परिसूचकले नेपाली अर्थतन्त्र सबलतर्फ उन्मुख रहेको देखाएको छ ।

ऊर्जा र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा सुधार, पर्यटन आगमन र धानको उत्पादन वृद्धि, उपभोक्ता मूल्यवृद्धिमा कमी, शोधनान्तर वचतमा, वैदेशिक मुद्रा संचितीमा वृद्धि, राजश्व संकलन बढेपछि देशको समग्र आर्थिक अवस्था सबल देखिएको हो ।

पछिल्ला दिनमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख हँुदै गएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक देशको समग्र आर्थिक तथा वित्तीय परिदृष्य सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

ऊर्जा आपूर्तिमा आएको सुधार र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा आएको सहजताले उद्योग क्षेत्रको क्षमता उपयोग बढ्ने भएको छ ।  खिम्ती–ढल्केवर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै ऊर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने राष्ट्र बैंकले जनाएको छ ।

सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन संख्यामा ३५।४ प्रतिशत वृद्धि भएको छ । जसअनुसार ७ लाख २९ हजार ५५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा भएको सुधारको परिणाम होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार हुने अनुमान गरिएको छ ।

धान उत्पादनमा भएको उल्लेख्य वृद्धिले कृषि क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने देखिएको छ । कृषि उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सम्भावित सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला महिनामा उपभोक्ता मुद्रास्फीति दर घट्दै आएकोले नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ । पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुनसक्ने वृद्धि भने नेपालको मुद्रास्फीतिमा चाप बढाउने भएकाले थप चुनौती देखिएको राष्ट्र बैंकको अनुमान छ ।

यस्तै आयातमा उच्च वृद्धि भएता पनि मुलुकको शोधनान्तर स्थिति बचतमा रहेकोले वैदेशिक मुद्राको सञ्चिति बढ्दै गएको छ । तर विप्रेषण आप्रवाहको घट्दो वृद्धिदर चिन्ताको विषय रहेको राष्ट्र बैंकको विश्लेषण छ । सरकारी बजेट स्थिति मजवुद रहदैं आएको छ । राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको छ । गत मसान्तसम्म राष्ट्रको ढुकुटीमा २ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ नगद मौज्दात कायम छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन र कर्जा प्रवाहको विस्तारमा देखिएको असन्तुलनका कारण केही वित्तीय घर्षण देखिएकोमा खुल्ला बजार कारोबारमार्फत् प्रवाहित तरलता र राष्ट्र बैंकद्वारा हालसालै जारी बजार मार्गनिर्देशनका कारण यस्तो घर्षणमा केही सुधार आएको छ ।

पछिल्ला दिनहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख रहेको राष्ट्र बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411