नेपाल टेलिकमले ६ महिना मै नाफा कमायो झण्डै ८ अर्ब रुपैयाँ
बिहीवार, माघ २७, २०७३ साल,

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा बढेको छ ।
चालु आवको पुससम्ममा कम्पनीले ७ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएका मध्ये नेपाल दूरसञ्चार सबैभन्दा बढी नाफा कमाउने कम्पनी भएको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ७ अर्ब २५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा कम्पनीले कुल १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी १०५ रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीले २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ अर्ब २९ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा कम्पनीको कुल आम्दानी ४४ अर्ब २० करोड ९२ लाख रुपैयाँ थियो ।
चालु आवको पुससम्ममा दूरसञ्चारले ११ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा उसको खर्च ११ अर्ब ४९ करोड रुपैयाँ थियो । गत आवमा कम्पनीको कुल खर्च २५ अर्ब ९८ करोड रुपैयाँ थियो ।