​सरकारी जागिर छाडेर पुलिस माइला आलुखेतीमा, १२ लाख आम्दानी गर्दै

बिहीवार, माघ २०, २०७३ साल,
काभ्रे । बालुवापाटी गाविस– २ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् ।

२१ वर्ष प्रहरी सेवापछि कृषि पेशा अङ्गालेका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिन्छन् । आलु खेतीसँगै उनी पशुपालनमा समर्पित छन् ।  । “जागिर छाडेपछि सुरुआतमा किराना पसल चलाए,” उनले भने ।

उनले भैँसीपालनबाट मासिक ३० हजारसम्म आम्दानी गर्दैआएका छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने घोरसाइनेका दुई छोरा र दुई छोरीले समेत उनलाई सघाउँदै आएका छन् । मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन् ।

“कृषि पेशाबाट मनग्य आम्दानी गर्न सकिन्छ,” उनले भने । काठमाडौंमा पसल गरेर बस्दै आएका उनका छोरा सन्तोष बुबालाई सघाउन गाउँ फर्किए । “मेहनत गर्न सके कृषकले आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने कुरा बुबाबाट नै सिके,” सन्तोषले भने– “परिवार नै मिलेर काम गर्दा त्यसलाई व्यावसायिकता दिन निकै सजिलो हुन्छ ।” घोरसाइने परिवार सिङ्गो गाउँकै लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

घोरसाइनेले कृषि व्यवसायबाट आम्दानी गरेर सहरमा दुईवटा घर जोड्ेका छन् । “मेहनत गरी कमाएको सम्पत्तिले निकै सन्तुष्टि दिँदोरहेछ,” उनले भने, नेपाल कृषिप्रधान देश भएकाले यहाँ निकै सम्भावना रहेका उनी बताउँछन् ।

प्रहरीको जागिर छाडेर कृषि पेसा अङ्गाल्दा आफूले निकै प्रगति गरेको घोरसाइने बताउँछन् । “छोराछोरीबाट पनि आफूले सोचेजस्तै सहयोग पाइरहेको छु,” उनले भने । उनले हाल १५ रोपनी जग्गामा मौसमी र बेमौसमी आलुखेती गर्दै आएकाछन् ।

सुरुआतमा सिँचाइको राम्रो सुविधा भए पनि पछि पानीको मुहान सुक्दै गएपछि उनलाई सिचाइको समस्या छ । घरमै उत्पादित मल प्रयोग गर्दैआएका घोरसाइने वर्षैपिच्छे आलुको बीउ फेरिरहन्छन् । उनले गाउँमा समेत बीउ वितरण गर्दैआएका छन् ।

विभिन्न ठाउँमा देखेका आधारमा व्यावसायिक रुपमा आलु खेती गर्दै आएको उनको भनाइ छ । सबैले गाउँ छोडेर गइसकेको अवस्थामा आफूले आलु खेतीलाई निरन्तरता दिन र आफ्नो पुख्र्यौली सम्पत्ति जोगाइराख्न आलुखेतीलाई निरन्तरता दिइरहेको घोरसाइनेले बताए । समाजसेवामा समेत समर्पित उनी समाजका हित हुने कामका निम्ति कहिल्यै पछि हट्नुहुन्न ।

प्रहरीमा जागिर गरेका कारण उनलाई गाउँभरि ‘पुलिस माइला’को नामले चिन्ने गर्छन् । आलुको व्यवसायिक खेतीमा घोरसाइने जिल्लामै अग्रस्थानमा छन् । गाविसभरका किसान प्रायः आलुको बीउ खोज्दै घोरसाइनेको घरसम्म आइपुग्छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411