
चितवन । नारायणगढ– मुग्लिन सडक खण्डअन्तरगत मुग्लिन नजिकको सडक चौडा गर्न चट्टानको पहाड काट्ने काम कठिन भएपछि अहिले वैकल्पिक उपायको खोजी शुरू भएको छ ।
सो ठाउँमा ६ सय मिटर लामो चट्टानी पहाड पर्दछ । जुन ५६ मिटरसम्म अग्लो छ । हाल पाँच दशमलव पाँच मिटर सडक चौडा छ । त्यसलाई दोब्बर बनाउनुपर्ने हुन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार मुग्लिनबाट एक दशमलब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो क्षेत्रमा विगत दुई महीनादेखि चट्टानी पहाडको माथिल्लो भागबाट फुटाल्न शुरू गरिएको छ । यद्यपि कामले गतिलिन नसकेको उनले बताए ।
एक्स्क्याभेटर, ब्रेकर, लोडर, ग्रेडर, ट्रिपरसहितका उपकरण प्रयोग गरिएको भए पनि कामले गतिलिन सकेको छैन, इञ्जिनियर खनालले भने – यही गतिमा काम भए थप १८ महीनाभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपायको खोजीका लागि भारतीय विज्ञ झिकाइएको छ । उनीहरुले क्यान्टिलिभर स्टक्चरबाट सडक फराकिलो बनाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन गरिरहेका छन् ।
यसरी फराकिलो बनाउँदा सडकभन्दा बाहिरी ठाउँमा ठूला र बलिया स्ल्याब निर्माण गरी सडकमा क्रेनले झारेर रक बेल्डिङ ९चट्टानमा फलामको लठ्ठाले बाँध्ने काम० गर्नुपर्दछ । जसले दुई मिटरसम्म सडक चौडा गर्न सकिने इञ्जिनियर खनालले बताए । सडकको त्रिशूलीपट्टिको भागमा दुई मिटर बाहिरसम्म स्ल्याब राख्न सकिन्छ । यसो गर्दा बाँकी सडक चौडा गर्न धेरै माथिबाट पहाड काट्नु नपर्ने खनालले बताए । यो प्रविधि हालसम्म नेपालमा प्रयोगमा आएको छैन ।
क्यान्टिलिभर स्टक्चर निर्माण गर्न सकिएमा ७० देखि ८० प्रतिशत भित्तो काट्ने काम कम हुने अनुमान छ । कडा चट्टान भएकाले ब्रेकरले काट्दा आगो बल्ने गरेको छ । दैनिक रुपमा थोरै भू–भाग मात्रै काट्न सकिएको छ । जसका कारण काममा प्रगति हुन सकेको छैन । हालसम्म सम्पूर्ण सडकलाई हेर्दा ३६ प्रतिशत मात्रै काम भएको छ ।
लक्ष्य अनुरुप काम भएको भए हालसम्म ५८ प्रतिशत काम हुनुपर्ने थियो । पहिलेको लक्ष्य अनुरुप ८० प्रतिशत काम हुनुपर्ने हो । २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक भूकम्प र नाकाबन्दीका कारण त्यसको म्याद थप गरी भदौ मसान्तमा पु¥याइएको थियो ।
निर्माण कम्पनीले थप तीन महिना १५ दिन समय थप गर्न माग गरेका छन् । सोही सडकको पहिलो खण्ड आँपटारीदेखि दासढुङ्गासम्म पहाड काट्नुपर्ने काम नभएकाले केही समयभित्रै कालोपत्रेको काम थालिँदै छ । दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १६ किलोमिटर र घुमाउनेमा पहाड काट्ने काम भइरहेको खनालले बताए ।
१६ किलोमिटरमा चार सय मिटर लम्बाई र ४५ मिटर अग्लो पहाडलाई काटेर सडक चौडा गर्नुपर्ने हुन्छ । जहाँ हाल ६ देखि ६ दशमलव ५ मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर बनाउनुपर्ने हुन्छ ।
त्यस्तै घुमाउनेमा उत्तिकै अग्लो २५० मिटर लामो पहाड काट्ने काम आधा सकिएको खनालले बताए । ती क्षेत्रको काम निर्धारित समयमा सम्पन्न गर्न सके पनि मुग्लिन नजिकको पहाड भने काट्न कठिन देखिएको छ ।
विश्व बैङ्कको रू। दुई अर्ब ९० करोड आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एशियन हाइवे अन्तरगतको एएच ४ टू खण्डअन्तरगत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ ।
इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौं, नागढुङ्गा, नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगञ्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एशियन हाइवेको एक खण्ड हो ।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौंबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडकव्यस्त रहने गर्दछ । रासस