​यसरी फेरिदियो बिपी राजमार्गले किसानको जीवनशैली

सोमबार, माघ १७, २०७३ साल,
सिन्धुली  । नागबेली शैलीमा एशियाकै नमूनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ ।

बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमूना र सुन्दरता मन नपराउने सायदै नहोलान् । तराईको समथर भूभागदेखि शुरू भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको बर्दिबासबाट शुरू भएको यस राजमार्गको लम्बाइ १ सय ५८ किलोमिटर छ ।
राजमार्गले महोत्तरी, धनुषा, सिन्धुली, काभ्रे जिल्ला भएर राजधानी काठमाडौंसँग जोडेको छ । साँच्चै हेरिरहुँ जस्तो लाग्ने राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । उक्त राजमार्ग जापान सरकारले सन् २०१५ जुलाई ३ मा नेपाललाई हस्तान्तरण गरेको हो । राजधानी काठमाडौंलाई पूर्वी तथा मध्य तराईसँग जोड्ने वैकल्पिक राजमार्ग निर्माणले महोत्तरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेपनि यसले रामेछाप, दोलखा, उदयपुर, ओखलढुङ्ङा, खोटाङलगायतका जिल्लामा समेत प्रत्यक्ष सेवा पुगेको देखिन्छ ।


बनेपा बर्दिबास सडकले किसानको फेरिँदै जीवनशैली

सिन्धुलीमाढीबाट २४ किलो मिटरमा रहेको खनियाखर्क रतनचुरा गाविसमा पर्दछ । बिपी राजमार्गको निर्माण र सवारीको चाप बढेपछि खनियाखर्क बजारका रुपमा स्थापित भएको छ । अहिले यो बजार निकै व्यस्त र चहलपहल देखिन्छ ।

यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । जुनार, तरकारी होस् या त होटल व्यवसाय गर्ने व्यवसायी सबै निकै व्यस्त छन् । बिपी राजमार्गको निर्माणपछि राजमार्ग आसपासका सिन्धुलीवासीन्दाको जीवनस्तर नै फेरिएको नाकाजोलीका टलकबहादुर मगरले बताए ।

मौसमअनुसारका अकबरे खुर्सानी, काउली, आलु, लसुन, प्याजलगायतका तरकारी उत्पादन गरी बिक्री वितरण गर्दै आएका मगरले राजमार्ग बनेपछि उत्पादित तरकारी बिक्री गर्न बजारको कुनै समस्या नभएको जानकारी दिए । तरकारी उत्पादनले सिन्धुलीका धेरै कृषक आत्मनिर्भर बन्दै गएका छन् ।

केही वर्षअघिसम्म घरमा उपभोग्य तरकारीका लागि बजार खोज्दै हिँड्ने कृषक अहिले आफैँ तरकारी बिक्री गर्न थालेका हुन् । जलकन्या, भद्रकाली, भीमेश्वर, भुवनेश्वरीलगायत अन्य गाविसका कृषकले बर्सेनि तरकारी र फलफूलबाट लाखौँ रुपैयाँ आम्दानी लिने गरेका छन् ।

केही वर्षअघिसम्म सवारी साधन चढ्न घन्टौँ हिँडेर सिन्धुली सदरमुकाम आइपुग्नुपर्ने बाध्यतामा रहेका बिपी राजमार्ग आसपासका स्थानीयवासी अहिले आफ्नै आँगनबाट सवारी साधन चढ्न पाउँदा खुसी मात्र छैनन्, त्यो अवसरलाई प्रयोग गरेर मनग्य आम्दानीसमेत गरिरहेका छन् ।

राजमार्ग निर्माणपछि जुनारखेती जीवन निर्वाहको मुख्य आधार

राजमार्ग सञ्चालनसँगै सिन्धुलीवासीले जुनारखेतीलाई जीवन निर्वाहको प्रमुख आधार बनाएका छन् । सडक नहुँदा बोटमै कुहिएर जाने जुनार बिक्रीबाट अहिले कुषकहरुले लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्  ।  

जुनार विकास सङ्घ, सिन्धुलीका अनुसार सडक सञ्जालको पहुँच पुगेसँगै जिल्लामा जुनार खेती गर्ने कृषकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यातायातको पहुँचसँगै कृषककोे जीवनस्तरमा समेत परिवर्तन आएको जुनार विकास सङ्घ, सिन्धुलीका उपाध्यक्ष कृष्ण गौतमले बताए ।

जिल्लामा आधा गाविसमा जुनार खेती हुँदै आएको छ । ती गाविसमा हरेक वर्ष रू २२ करोडभन्दा बढीको जुनार उत्पादन हुन्छ । त्यसैले सरकारले सिन्धुलीलाई जुनार पकेट क्षेत्रका रुपमा विकास गरेको छ । जिल्लामा रू। तीन करोड ६५ लाख ४४ हजार लगानीमा जुनारको जुस कारखानासमेत स्थापना गरिएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411