बिजुली उत्पादन बढ्दै, यो वर्ष ११२ मेगावाट थपियो

मंगलवार, माघ ११, २०७३ साल,
काठमाडौँ । सरकारले चालु आवमा २०० मेगावाट विद्युत् थप गर्ने लक्ष्यका साथ अगाडि बढाएको कार्ययोजनाअनुसार हालसम्म ११२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आन्तरिक उत्पादनलाई बढावा दिने र सङ्कट टार्नका लागि मात्रै तत्काल भारतबाट विद्युत् आयात गरिएको भन्दै सरकारले निर्माणका क्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नसमेत आग्रह गरेको छ ।

ऊर्जा मन्त्रालयले अगाडि सारेको ३७ बुँदे कार्ययोजनामा निर्माणका क्रममा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न गरेको आग्रहअनुसार उनीहरुलाई थप सहजीकरणसमेत गरिरहेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माले निर्माणका क्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गराउन मन्त्रालयका तर्फबाट सहयोग गरिएका कारण सरकारको लक्ष्य पूरा हुने बताए ।

चालु आवमा निजी लगानीबाट कुल १५ आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १४२ मेगावाट बिजुली थप हुने क्रममा रहेको छ ।

पछिल्लो पटक पाँचथरमा आयोजनास्थल रहेको हेवा ‘ए’ आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि चालु आवको हालसम्म मात्रै ११२ मेगावाट प्राधिकरणले केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ती सबै आयोजना सम्पन्न भएपछि आन्तरिक रुपमा विद्युत्को जडित क्षमता ९९० मेगावाट पुग्नेछ ।

पछिल्लो १० वर्षमा उत्पादन हुन नसकेको विद्युत् चालु आवमा उत्पादन हुने भएपछि त्यसले मुलुकको ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

१४४ मेगावाट क्षमताको मध्य मर्स्याङ्दी निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा सबैभन्दा ठूलो आयोजनाका रुपमा माथिल्लो मस्र्याङ्दी ५० मेगावाट जोडिएको छ ।

विद्युत् माग एक हजार २६० मेगावाट

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हाल मुलुकभरको विद्युत् माग एक हजार २६० मेगावाट रहेको छ ।

हिउँदको समयमा बढी विद्युत् माग हुने भए पनि नियमित रुपमा विद्युत् उपलब्ध गराइएका कारण माग सोचेभन्दा कम मात्रै बढेको प्राधिकरणको विश्वास छ ।

प्रणालीमा ३७५ मेगावाट अपुग रहेको छ । औद्योगिक करिडोरमा साँझको समयमा विद्युत्भार कटौती गर्नुपरेको छ ।

भारतबाट आयात गरिएको विद्युत् खिम्ती(ढल्केबर प्रसारण लाइनमार्फत काठमाडौँ आयात गरिएका कारण काठमाडौँ उपत्यकाको ‘लोड’ व्यवस्थापनका लागि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।

माग र आपूर्तिमा ३८० मेगावाट अपुग भए पनि सरकारले आधारभूत रुपमा मुलुकभर नै विद्युत्भार कटौती अन्त्य गरेको छ । प्राधिकरणका आयोजनाबाट ३५०, निजी ऊर्जा उत्पादकबाट १८० र भारतबाट ३५५ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ ।

यही माघको १७ गतेबाट भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएपछि आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गर्न थप सहज हुने प्राधिकरणको विश्वास छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411