शिक्षण अस्पताललाई जापानको ६९ करोड २० लाख सहयोग

बुद्धबार, पौष १३, २०७३ साल,
काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ ।

उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरेका छन् ।

सरकारलाई थप ३२ करोड १० लाख

यसैगरी जाइकाले जापानको आर्थिक वर्ष २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ ।

सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा सङ्ख्यात्मक र गुणात्मक सुधार हुने बताए ।

राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

उपकरणमा लगानी गरिने

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा सङ्ख्यात्मक र गुणस्तर वृद्धि हुने बताए ।

अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेस गरेको जानकारी गराउँदै उनले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताए । उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुग्नेछन् । रासस

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411