​नेप्से १८ सय माथि , बैंकमै लगानीकर्ताको आकर्षण

मंगलवार, श्रावन ४, २०७३ साल,
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको परिसूचक नेप्सेले आज १८ सय अंक पार गरेको छ। १३ दशमलव ९ अंकले नेप्से बढेर १८ सय दशमलव ४७ अंकमा पुगेको छ। 
 
कारोबार पनि यस दिन उल्लेख्य बढेको छ। २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि हिजो १ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। १ सय ३९ कम्पनीको २९ लाख कित्ता सेयर खरिदबिक्री भयो। यस दिन क वर्गका कम्पनीको सूचक ३.५८ अंकले बढेको छ। 
 
लगानीकर्ताको आकर्षण भने वाणिज्य बैंकहरुमा देखिएको छ। केही लघुवित्त कम्पनीबाहेक विकास बैंकमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। बैंकहरुले एक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न लाग्दा लगानीकर्ताहरु लाभांशको आशामा ति कम्पनीतर्फ मोडिएका हुन्। 

यस दिन वाणिज्य बैंक र होटल समूह ३५–३५ अंकले उक्लिएका छन् भने विकास बैंक समूह १५ र उत्पादन समूहमा ४० अंकको वृद्धि भएको छ। बिमा समूह भने यस दिन उच्च अंकले घटेको छ। २ सय ४० अंकले सो समूह ओर्लिँदा अन्य समूह १७, जलविद्युत समूह ९.९ अंकले घटेका छन्।
 
जनता बैंकसँग मर्ज तोडिएपछि केही दिनदेखि कारोबार सुरु भएको माछापुच्छ्रे बैंकको उच्च कारोबार भयो। सो कम्पनीको ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मर्ज प्रक्रियाका कारण कारोबार रोकिएका बेला ५० प्रतिशत हकप्रद दिने निर्णय संचालक समितिको बैठकले गरेकाले कारोबार खुलेपछि सो कम्पनीमा आकर्षण बढेको हो।
 
जसले गर्दा बैंकको सेयर मूल्य पनि बढेर ८ सय ९२ रुपैयाँ प्रतिकित्ता पुगेको छ। त्यस्तै नेपाल बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सो कम्पनीले यो वर्ष राम्रो नाफा कमाउने लगानीकर्ताको अनुमान छ। जसले गर्दा सेयर मूल्य समेत बढेर ५ सय २७ रुपैयाँ पुगेको छ। 
 
शिखर इन्स्योरेन्सको ७ करोड ३ लाख, नेपाल बंगलादेश बैंकको ७ करोड ४७ लाख, प्राइम लाइफ इन्स्योरेन्सको ७ करोड २८ लाख र एनआईसी एसियाको ७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भयो। 
 
नाफाका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ५५ कायम भएको छ। प्रतिसेयर आम्दानी राम्रो रहेकाले लगानीकर्ताको आकर्षण कम्पनीमा बढेको हो।
 
खरिद गर्नेहरुको उल्लेख्य चाप पर्नु र बिक्री सेयर नहुँदा सेयर मूल्यमा केही दिनदेखि उच्च वृद्धि हुँदै आएको छ। त्यस्तै किसान माइक्रोफाइनान्स र कैलाश विकास बैंकको सेयर मूल्य साढे ९ प्रतिशत बढीले बढेको छ।
 
गण्डकी विकास बैंक, पोखरा फाइनान्स, माछापुच्छ्रे बैंक, बोटलर्स नेपाल, कृषि विकास बैंकका लगानीकर्ता पनि नाफामा आधारमा अगाडि रहे। 
 
निर्धन उत्थान बैंक, मिर्मिरे माइक्रोफाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनी, आईएलएफसिओ माइक्रोफाइनान्सका लगानीकर्ताले उच्च प्रतिशतले सेयर मूल्य गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411