​नेपाल राष्ट्र बैंकको पक्षमा अमेरिकी अदालतको फैसला

मंगलवार, आषाढ ७, २०७३ साल,
काठमाडौं । पूर्वस्वीकृति नलिई अमेरिकामा रहेको आफ्नो खाताबाट १० लाख अमेरिकी डलर करिब १० करोड रुपैयाँ निकालिएको मुद्दा पुनरावेदनमा समेत राष्ट्र बैंकले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित कोर्ट अफ अपिल्सले सोमबार पैसा जफत गर्ने राष्ट्र बैंकको निर्णय सही भएको फैसला गरेको हो, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

राष्ट्र बैंक सरकारी निकाय भएकाले उसले गर्ने क्रियाकलाप व्यापारिक नहुने व्याख्या गर्दै अदालतले बैंकको निर्णयलाई सही ठहर्‍याएको छ । ३० असार ०६५ मा तरला इन्टरनेसनलका सञ्चालक नेपाली मूलका अमेरिकी नागरिक असीम खत्रीले चिनियाँ नागरिक ऊ लिसिआङको भैँसेपाटीमा रहेको नेपाल–बंगलादेश बैंकको खातामा पैसा पठाएका थिए ।

भैँसेपाटी शाखामा शंकास्पद रूपमा १० लाख डलर अमेरिकाबाट आएपछि बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी दिएको थियो । लिसियाङले रकमको स्रोत खुलाउन नसकेपछि नेपाल राष्ट्र बैंकले भुक्तानी रोक्का गर्दै थप अनुुुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई जिम्मेवारी दिएको थियो । पैसा शंकास्पद र स्रोत खुल्न नसकेपछि सम्पत्ति शुद्धीकरणअन्तर्गत खाता रोक्का गरी अनुसन्धान थालिएको थियो ।

अनुसन्धान पूरा भएपछि विभागले १३ माघ ०६७ मा चिनियाँ नागरिकबाट १० लाख डलर जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले १९ जेठ ०६८ मा चिनियाँ नागरिकलाई एक वर्ष कैद, बिगोबराबरको जरिवाना र रकम जफतको फैसला गर्‍यो । सोहीअनुरूप राष्ट्र बैंकले रकम जफत गरेको थियो ।

शंकास्पद कारोबारको आशंकामा रकम नेपालमा नियन्त्रणमा परेपछि रकम पठाउने असीम क्षेत्रीले विनाकारण रकम रोकिएकाले असुल गराइदिन माग गर्दै न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दामा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको थियो । डिस्ट्रिक्ट कोर्टले पनि राष्ट्र बैंककै पक्षमा फैसला गरेको थियो । त्यसविरुद्ध क्षेत्री पुनरावेदनमा गएका थिए । व्यापारको सिलसिलामा पठाएको रकम राष्ट्र बैंकले पूर्वाग्रह राखी जफत गरेको उनको तर्क थियो ।

तर, राष्ट्र बैंक कुनै व्यापारिक स्वार्थ भएको संस्था नभई अधिकारप्राप्त सरकारी संस्था भएकाले रकम जफत गर्नु उसको अधिकार भएको अदालतले जनाएको राष्ट्र बैंकका निर्देशक डा हरि नेपालले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411