प्रधानमन्त्रीले अर्थशास्त्रीहरूलाई भने-बजेट बुझ्नुभएन भने सर्वसाधारणलाई सोध्नुहोस्

शुक्रबार, आषाढ ३, २०७३ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अर्थशास्त्रीहरुले नबुझे पनि सर्वसाधारण जनताले बुझेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार काठमाडौंमा सुरु भएको पेशागत महासंघको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै बजेटका बारेमा नबुझेका विषय सर्वसाधारणसँग बुझ्न अर्थशास्त्रीहरुलाई सुझाव दिए।

उनले बजेट सार्वजनिक भएपछि बुढापाका खुसीले रमाएको भन्दै विरोध गर्ने ठाउँ फेला नपरेपछि अर्थशास्त्रीहरुले बुझिएन भनेर टिप्पणी गरेको बताए। उनले सबै क्षेत्रलाई समेटेर मुलुकको विकास निर्माणतालाई तिब्रता दिने गरी पुरानो अनुभवको आधारमा बजेट ल्याएको भन्दै अर्थशास्त्रीहरुको आलोचनाबाट सरकार नआत्तिएको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई मुसासँग तुलना गरे। उनले घरघरमा पाइपलाइनमार्फत ग्याँस पुर्‍याउँछु र रेल चलाएर देखाउँछु भन्दा आम सर्वसाधारण हर्षित भएको तर पढेलेखेका बुद्धिजीवीहरुलाई भने आफ्नो भनाइ चित्त नबुझेको बताए। उनले आफ्नो भनाइको विरोध गर्ने बुद्धिजीवीलाई भर्खरै  किनेको कोट काट्ने मुसाको संज्ञा दिए।

प्रधानमन्त्री ओलीले विपक्षी दल र केही बुद्धिजीवीको विरोधबाट आत्तिएर सरकारले आफ्नो काम गराइको गति नघटाउने बताए। उनले सरकार अँध्यारोमा छामछुम गरेर अगाडि नबढेको प्रष्ट पारे। एमाले समर्थित पेशाकर्मीहरु आवद्ध पेशागत महासंघको महाधिवेशन तीन दिनसम्म चल्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411