धितोपत्र बोर्डको सेयर बजार जोखिममा पुगेको निष्कर्ष, लगानीमा विवेकपूर्ण निर्णय लिन आग्रह

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बढ्दै गएको सेयर बजारको सूचकाङ्कले जोखिम पनि बढाएको भन्दै विवेकपूर्ण निर्णयबाट मात्रै लगानी गर्न आग्रह गरेको छ।
 
सूचकाङ्क तथा कारोवार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजारको कारोवारमा आकर्षित देखिएको भन्दै उसले सजगता अपनाउन आग्रह गरेको हो।
 
धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पादन÷वित्तीय स्थिति लगानीकर्ता स्वयंको जोखिम वहन गर्ने क्षमता आदिलाई हेरेर धितोपत्रमा लगानी गर्न उपयुक्त हुने बोर्डले जनाएको छ।  
 
हाल सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादन, वित्तीय स्थिति सामान्य स्तरमा रहेको बोर्डले स्पष्ट पारेको छ।
 
समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहँदा नेप्से इन्डेक्स निरन्तर रुपमा बढ्दै उच्च विन्दुमा आउनुले जोखिम पनि बढेको जनाएको छ।  
 
‘बजारमा बढ्दै गएको जोखिम समेतलाई दृष्टिगत गरी आफ्नो लगानी सम्बन्धी विवेकपूर्ण निर्णय लिन नेपाल धितोपत्र बोर्ड आम लगानीकर्ताहरुलाई अनुरोध गर्दछ’ बोर्डबाट जारी विज्ञप्तिमा भनिएको छ।
 
बोर्डले लगानीकर्ताहरुलाई बेलाबेलामा सजगता दिलाउनु आफ्नो कर्तव्य रहेको भन्दै सो अनुसार सजगता दिलाउन खोजेको स्पष्ट पारेको छ।
 
विज्ञप्तिमा भनिएको छ ‘पँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यर्थाथ स्थिति अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारी बोर्डको पनि हो।’
 
बजारको सुचकांक बढ्दै जाँदा जोखिम पनि त्यही दरमा बढ्दै जाने यथार्थतालाई सबैले मनन गर्नुपर्नेमा बोर्डले जोड दिएको छ।
 
पछिल्लो समयमा सेयर बजारमा नयाँ लगानीकर्ताहरुको ठूलो ओइरो लागेसँगै सूचकांक र कारोबार रकम ह्वात्तै बढेको छ। बिमा कम्पनीको चुक्ता पुँजी बढ्ने अनुमान र हकप्रद सेयरको प्रलोभनले गर्दा लगानीकर्ताको बजारमा आकर्षण देखिएको पाइन्छ। यहीबीचमा खराव वित्तीय अवस्था भएका कम्पनीको मूल्य समेत आकासिएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411