​युनिटीले फेरि आफ्नो व्यवसाय थाल्ने, सदस्यको ३ अर्ब ५० करोड फिर्ता गर्ने

सोमबार, जेष्ठ ३१, २०७३ साल,
काठमाडौं । अदालतले ठगी गरेको ठहर गरेपछि अधिकांश सञ्चालक जेलमा भएको समयमा युनिटी लाइफ इन्टरनेशनलले फेरि आफ्नो व्यवसाय थाल्ने भएको छ। 
 
जेठ १२ गते तीन वर्षको कैद सजाय भुक्तान गरी जेलमुक्त भएका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङले सोमबार एक पत्रकार सम्मेलन गर्दै आफुहरुले पुनः व्यवसाय सञ्चालन गर्न लागेको जनाएका छन्। 
 
उनले भने ‘हाम्रो कम्पनी अहिलेसम्म खारेज भएको छैन। जसका कारण आगामी दिनमा पनि यही कम्पनीको नामबाटै व्यवसाय थाल्छौँ। तर अब नेटवर्किङ व्यवसाय भने सञ्चालन गर्ने छैनौँ।’ गुरुङलाई पुनराबेदन अदातल ललितपुरले नेटवर्किङ व्यवसाय गरी जनता ठगेको भन्दै तीन वर्ष कैद र जरिवाना बापत ३ करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो। 
 
जरीवाना बापतको रकम तिर्न नसक्नेले ४ वर्ष जेल बिताउनुपर्ने व्यवस्था छ। तर गुरुङले जरीवाना बापतको रकममा १५ प्रतिशतले बृद्धि गर्दै ३ करोड ५० लाख रुपैयाँ बराबरको धरौटी राखी जेलबाहिर आएका हुन्।
 
गुरुङले भने ‘हाम्रा सबै सदस्यको रकम फिर्ता गर्न म बाहिर आएको हुँ। राज्यले रोक्का राखेको हाम्रो सम्पत्ति फुक्का गरेर एक सरकारी संयन्त्र खडा गरी हाम्रा जग्गा जमिन बिक्री गरी हाम्रा सदस्यको रकम फिर्ता गरियोस्।’ उनका अनुसार युनिटी लाइफ इन्टरनेशनलको रोक्का रहेको सम्पत्ति बेचबिखन गर्दा झन्डै ३ अर्ब ५० करोड रुपैयाँ रकम प्राप्त हुन्छ। 
 
साथै सबै सदस्यको फिर्ता गर्न बाँकी रहेको रकम पनि झन्डै ३ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको पनि गुरुङले बताए। उनले अब युनिटी लाइफ इन्टरनेशनले पुनःनिर्माण तथा कृषि सम्बन्धी व्यवसाय गर्ने बताए।
 
युनिटीका साढे ती लाख सदस्य छन् भने साढे दुई लाख सदस्यलाई कम्पनीले रकम फिर्ता गर्न बाँकी छ। साथै २०६७ सालमा यसका सञ्चालक जेल परेपछि यसका केही व्यवसाय बन्द भएका छन् भने केही अहिलेसम्म पनि सञ्चालनमै छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411